Breaking News

प्रधानमन्त्री प्रचण्डले भने: देशको शीर ठाडो पारेर भारतबाट फर्किएँ

Banner

काठमाडौं, जेठ २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।

‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष ग¥यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’ प्रधानमन्त्रीले भने , ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन । यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन् । सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्त्वहरू अत्तालिएका छन् । राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्त्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाइँ हामी सचेत हुन जरुरी छ ।’

‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिन्छ’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ । कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौँ । उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ । कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौँ । यतातर्फ सरकारको ध्यान गएको छ ।’

विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको उनको भनाइ छ । ‘राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवद्र्धन गर्न तत्पर छ । विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’ उनले भने , ‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु । विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन् । सेवाग्राही कार्यालयका लामा लामा लाइन हटेका छन् । यस वर्ष समयअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुँदै छ ।’

प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचार विरोधी अभियानले निरन्तरता पाउने बताए । ‘सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत भएको छ । यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ। भ्रष्टाचार विरोधी अभियान निरन्तर अगाडि बढ्छ । सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौँ।’ उनले भने ।

‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएका छन् । इतिहासमा पहिलो पटक देशको शीर ठाडो पारेर फर्किएको छु’ प्रधानमन्त्रीले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो । यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो । २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ । १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेगरी सम्झौता भएको छ । वैकल्पिक हवाई मार्गका लागि सकारात्मक छलफल भएको छ । अन्य महत्त्वपूर्ण परियोजनामा पनि सहमति भएको छ । यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो ।’

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>