गोरखा

अत्यधिक गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

Banner
गोरखा, जेठ २७- 
गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।  गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।
“गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उहाँले भन्नुभयो । मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए  थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउनुहुन्छ ।
“कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो– “यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ ।” पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी  पुगेको छ । पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।
तनहुँमा पनि विद्यालय बन्द  
गर्मी बढेपछि तनहुँमा पनि विद्यालयको पठनपाठन बन्द गरिएको छ । जिल्लाको  शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् ।
विद्यार्थीको स्वास्थ्यमा असर पर्ने अवस्था देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आँबुखैरेनीले यही जेठ २८ गतेदेखि असार १ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै देवघाट गाउँपालिकाले यसअघि नै विद्यालयको पठनपाठन बन्द गरेको छ । व्यास नगरपालिका भित्रका केही विद्यालयले पठनपाठन बन्द गरेका छन् । व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीको सत्यवती, निर्मल, जलदेवीलगायत विद्यालयले पठनपाठन बन्द गरेको नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन पराजुलीले जानकारी दिनुभयो ।
“विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर पठनपाठन बन्द गर्न पाउने सामुदायिक र संस्थागत सबै विद्यालयलाई पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो । तनहुँको ऋषिङ, घिरिङ, भीमाद, भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा भने पठनपाठन जारी छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>