देश/प्रदेश

केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न एक हप्तादेखि १५ दिनसम्म लाग्न सक्ने

Banner

काठमाडौं, जेठ २५-

यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ ।

मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । ‘केरलामा मनसुनी वायुको प्रभाव सुरु भइसकेको छ । त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिन्छ,’ मौसमविद् सञ्जीव अधिकारीले भने ।

केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरु हुने हो । सामान्यतः केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ सम्म लाग्छ । मौसमविद् अधिकारीले हरेक वर्ष सोही मिति र अवधि लागू नहुने बताए । ‘लामो वर्षहरूको एभरेजमा हो । मिति र बीचको १२ दिन सधैभरि एउटै नहुन पनि सक्छ,’ उनले भने ।

केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै ढिला नहुने उनले बताए । उनका अनुसार केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ । त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ ।

केरलाबाट नेपाल भित्रन कति समय लाग्छ भनेर यकिनका साथ भन्न नसकिने उनले बताए । ’ केरला आइपुग्यो भनेपछि मनसुनी वायु नेपाल छिर्ने अलार्म बज्यो,’ उनले भने । यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ । केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने उनले बताए ।

‘केरलामा आइपुगेपछि हामी लगातार वायु कहाँनेर आयो हेरिरहन्छौं । १० दिनमा आउने वायु एक हप्तामै आइपुग्नेदेखि १५ दिनसम्म नआउने पनि हुन्छ,’ अधिकारी भन्छन्, ’त्यसको वेग कति तीव्र हुन्छ । त्यसमा कुनकुन प्रक्रिया हुन्छ, वायु यात्रा गर्ने वायुमण्डल कस्तो छ, ती सबै कुरामा निर्भर हुन्छ ।’

नेपालमा २०२० मा जुन १२ मा मनसुनी वायु आइपुगेको थियो । ०२१ मा ११ जुन र ०२२ मा ५ जुनमै मनसुनी वायु नेपाल भित्रिएको थियो । नेपाल प्रवेश गरेपछि मात्रै मौसममा बदली हुने उनले बताएका छन् । झापाबाट प्रवेश हुने मनसुनी वायु नेपालभरि यात्रा गर्न न्युनतम पाँच दिन लाग्छ । ‘त्यो मुभमेन्ट पनि कहिलेकाहीँ छिटो र कहिले अलि ढिलो हुनसक्छ,’ अधिकारीले भने ।

 

(सेतोपाटीबाट)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>