चितवन विशेष

भरतपुरमा १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

Banner

चितवन, जेठ २५-

वैदेशिक रोजगारमा जाँदा सीप सिकेर जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भरतपुरमा बुधबार भएको वैदेशिक रोजगार र वर्तमान अवस्थाको विषयमा आयोजित अन्तरक्रियामा सीप सिकेर विदेश जाँदा काम गर्न सहज हुने बताइएको हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका चितवन संयोजक सूर्यप्रसाद पौडेलले नेपालबाट दुई प्रतिशत भन्दा कम दक्ष जनशक्तिमात्रै वैदेशिक रोजगारमा जाने गरेको बताए । उनकाअनुसार करिब ७४ प्रतिशत अदक्ष र बाँकी अर्धदक्ष कामदार वैदेशिक रोजगारमा जाने गरेका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि भरतपुरसहित चितवनका चार पालिकामा सामी परियोजना लागू भएको उनले बताए ।

वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जानुपर्ने उल्लेख गर्दै पौडेलले पछिल्लो समयमा वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जाँदा सचेत हुनुपर्नेमा पौडेलले जोड दिए । उनले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले आफूले जानेको काममा मात्रै जाने, सीप परीक्षण तथा स्वास्थ्य परीक्षण गरेर मात्रै जाने, स्वदेशी विमानस्थल प्रयोग गरेर जानुपर्ने, सम्झौतापत्र राम्रोसँग पढेर मात्रै हस्ताक्षर गर्नुपर्ने तथा सूचिकृत वैदेशिक रोजगार कम्पनीबाटमात्रै जानुपर्नेमा पौडेलले जोड दिए ।

सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले विदेशमा समस्या परेका व्यक्ति र परिवारको न्यायका लागि पैरवी गर्दै आएको उनको भनाइ छ । गन्तव्य मुलुकमा बेपत्ता भएका वा जेलमा परेका नेपाली कामदारहरूको स्थिति पत्ता लगाउन र उद्धार गर्नका लागि सम्बन्धित निकायहरु, राजदूतावास तथा सम्बद्ध संघ संस्थामा पत्राचार र अनुरोध गर्ने, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दाहरूको निःशुल्क कानुनी उपचारका लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग, मृत्यु भएका र अङ्गभङ्ग भएका कामदारको हकमा सम्बन्धित निकायबाट क्षतिपूर्ति उपलब्ध गराउन आवश्यकता अनुसार सहजीकरण गर्ने जस्ता काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा सबैभन्दा बढी मानिस बागमती प्रदेशबाट गएका बताए । उनले बागमती प्रदेशका जिल्लामध्ये पनि चितवनबाट र चितवनको भरतपुरबाट सबैभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि गएका अधिकारीले बताए । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि हुँदै गर्दा यसलाई नियन्त्रण भन्दा पनि व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा सबैको सहयोग आवश्यक रहेको अधिकारीको भनाइ थियो ।

मानिसहरु बाध्यता र परिस्थितिका कारण वैदेशिक रोजगारमा जाने गरेका उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारीको कारण समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव परेको बताए । वैदेशिक रोजगारीले रेमिट्यान्स भित्र्याएको भए पनि मानसिक तनाव, पारीवारिक कलहसहितका धेरै सामाजिक समस्याहरु निम्त्याएको उनको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखाकी शान्ता कुमारी पौडेलले अहिलेको परिवेश, समाजको बाध्यता र परिवार पाल्नकै लागि मानिसहरु वैदेशिक रोजगारमा जाने गरेको बताए ।

भरतपुरबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम महानगरपालिकाले अगाडि बढाएको उनको भनाइ छ । अहिलेसम्म भरतपुरबाट १९ हजार घरधुरीका मानिसहरु वैदेशिक रोजगारीमा गएका तथ्यांक संकलन भइसकेको भन्दै तथ्यांक संकलनको काम बाँकी रहेकाले यो संख्या अझै बढ्ने पौडेलको भनाइ छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>