विचार/ब्लग

चितवन आसपासको परिवेश समेटिएको ‘जौवा’ उपन्यासः किशोरका आँखाले देखेको संसार

पुस्तक समीक्षा:

Banner

 

गोविन्द पौडेल

नारायणी नदी किनार नजिकको नवलपुर, परासी र सुनवलसम्मको भौगोलिक सांस्कृतिक परिवेशमा बुनिएको सामाजिक यथार्थका कोरा कथा र व्यथाको संगालो हो ‘जौवा’ उपन्यास ।

नवलपरासी जिल्लालाई चुरे पहाडले दुई भागमा बाँडेको छ । परासी बजार, रजहर , दुम्कौली , चोरमारालगायतका व्यापारिक केन्द्रहरू रहेको नवलपरासीलाई पूर्वमा नारायणी नदीले छुट्याएको छ । मध्यपश्चिम तराई , भित्री मधेस र केही पहाडी खण्डको सांस्कृतिक वस्तुमा टेकेको कथा मूलतः पहाडे ब्राह्मण किशोरले आफ्नो गाउँ इटौरामा घटिरहने मसिना घटनाहरूलाई जौवा उपन्यासको पृष्ठाधार बनाइएको छ । मूल थारू बस्तीमा पाल्पा, स्याङ्जा, प्युठान, तनहुँ, अर्घाखाँचीलगायतका जिल्लाबाट आएका अन्य जातीय क्लस्टरका मानिस पनि नवलपरासी आएर बसोबास गरेका देखिन्छन् । तराई माइग्रेसनको चर्को लहरसँगै उपन्यासको प्रमुख न्यारेटर म पात्रको परिवार पनि इटौरा गाउँमा आई त्यहीँको परिवेशमा राम्रैसित अन्तर्घुलित भइसकेको देखिन्छ ।

उपन्यासभित्र विभिन्न शीर्षकहरू मुनि छोटामिठा कथा छिरोलिएका छन् । उपन्यासको कथा मध्यमस्तरको छ । पहिलोपटक किताब पढ्न सुरु गर्न लागेको पाठक यो कुनै कथासङ्ग्रह रहेछ भनी झुक्किन सक्छ । तर, पनि जौवा नामक यो पुस्तक उपन्यासकै संरचनामा बुनिएको छ । अहिले साहित्यमा विधा मिश्रणका धेरै प्रयोगहरू चलिरहेका छन् । जौवाले कथा र उपन्यासको भिन्नतालाई ज्यादै झिनो गरी मात्र छोपेको छ । जौवाको कथा शिल्पमा औपन्यासिकताको औपचारिकता निभाइएको छ भने उपन्यासको बान्कीमा कथा वाचनको शिल्प घोलिएको छ । किन्तु लेखक विष्णु ढकालको यो एक्सपेरिमेन्ट वास्तवमा धेरै सफल भएको मान्न सकिन्छ ।

‘जौवा’ शब्दको अर्थ नेपाली शब्दकोशहरूमा भेटिन्न । यो शब्द सायद नवलपरासीको इटौरामा बोलिँदो हो । इटौरा गाउँ वास्तविक हो वा होइन पुस्तकमा ठिकसँग खुलाइएको छैन । उपन्यासमा नन्दभाउजू तालको प्रसंग आइरहन्छ तर, भौगोलिक अवस्थितिका दृष्टिले यो ताल चाँही चितवन जिल्लामा पर्छ । पुस्तकको पछिल्लो भागमा जौवाको अर्थ फटाहा खालको , नपढ्ने र बदमासी गर्ने मान्छे भनी बताइएको छ । किशोरावस्थाको उत्सुकता , कौतुहल र बदमासीका अनेक घटना र दुर्घटनाका सिलसिलालाई सिला खोजेर एउटा टड्कारो जीवन छाम्न खोजेका उपन्यासकार ढकाल समाजलाई जस्तो छ त्यस्तै देखाउन निपूर्ण देखिएका छन् । उपन्यासको मूल कथा बुन्न राखिएका शीर्षकै पिच्छेका भिन्नभिन्न कथा आफैँमा परिपूर्ण कथा हुन् । यद्यपि यी कथाहरू कुनै न कुनैरूपमा मूल कथासँग पनि जोडिएका छन् । पाठकले यिनै शीर्षकका कुनै कथामात्र पढे पनि कथाको परिपूर्णताले उनीहरू तृप्त हुन सक्छन् । मूलकथासँग सम्बन्ध गाँसेर पनि प्रत्येक कथा स्वतन्त्र राख्न सक्नु लेखकको विशेष शिल्प मान्न सकिन्छ ।

भर्खरै ल्यान्डलाइन फोन आउन सुरु गरेको, लंगुरबुर्जाको रोमाञ्चकता कायम रहेको, रंगिन टेलिभिजन घरमा हुनु प्रतिष्ठाको विषय हो भन्ने सामाजिक मनोविज्ञान बोकेको, कालो चस्मा र कालो जुत्ता शानका प्रतिक बनेको अनि भर्खरै बिजुली बत्ती आउन थालेको इटौरा गाउँ थारू र ब्राह्मण क्लस्टरको सांस्कृतिक इन्द्रेनी जस्तो देखिए पनि त्यहाँ आफ्नै जातीय श्रेष्ठताका अहंकार र अन्धविश्वास पनि राम्रैसँग जरा गाडेर बसेका देखिन्छन् । जजमानी गर्ने कुनै बाहुन बाजेको किशोर छोरो ‘तुले’ भनिने तुलसीप्रसाद ढकालले प्रथम पुरुष दृष्टि बिन्दुबाट आफ्ना गाउँमा घट्ने नानाथरी घटनालाई नियालिरहन्छ अनि तीन प्रति आफ्नै सोचको भारी बिसाइरहन्छ ।

उपन्यासकार ढकालले तुलेद्वारा बताइएका सारा घटनाक्रमलाई फिक्सनलाइज गरेका छन् । नरम उत्तरआधुनिकताको सिन्दुरे साँझमा लेखक ढकाल कहिले पाठकहरूलाई राँकेभूतको दर्शन गराउँछन् त कहिले बूढी नदीको भेलमा पौडी खेलाउँछन् ।

कथाभित्रका उपकथाहरू सगरको जून छेउका सहस्र ताराहरूजस्तै खिलखिलाइ रहन्छन् । मिठास थपिँदै जान्छ । आँगन उज्यालिँदै जान्छ । फेरि पनि धरतीमा जूनकीरीहरू चम्किरहन्छ्न् । उपन्यास पढिरहँदा कुनै पनि पाठक कथानकको जटिल सञ्जालमा पटक्कै बेरिँदैन । हेमन्त ऋतुको नारायणी जस्तै कथाको मूलनदी अविरल बगिरहन्छ । रहस्यमयता, तिलस्मिकता र अलौकिकताजस्ता उडन्ते साहित्यिक एलिमेन्टहरूबाट सर्वथा दूर रहेको जौवा कतिपय प्रसंगमा भने पलिटिकली करेक्ट ल्याङ्वेज प्रयोग गर्न चुकेको अनुभूति हुन्छ । थारू समाजमा बोलिने कतिपय शब्दहरूको सान्दर्भिक मिठासले हामी मक्ख त पर्छौँ अपितु कतिपय प्रसंगहरू अलि नग्न भएका हुन् कि भन्ने पनि लाग्न सक्छ । एउटा किशोरका रूपमा अनेकौँ बदमासी गरिरहने किशोर तुले र उसको जिग्री ईश्वरी गाउँ समाजका अन्याय र अमिल्दा कुराहरूमा भने मौन विरोध गरिरहन्छन् ।

उपन्यासमा धेरै पात्रहरू छन् । तुलेका बा, आमा, दिदी , ईश्वरी , डम्मरे , हेडसर , क्याप्टेन बा , रामुदाजी , खुसिया , उल्टे , ध्रुबे दाइ , बड्का थारू , चौकीदार , दाने , छोटी दिदी , मोहन ,रुबी बसन्तीलगायत । यद्यपि उपन्यासमा बसन्ती र तुलेकी दिदीको कथा धेरै छैन । धेरै कथानकको पाटो तुले र ईश्वरीकै वरिपरी तन्किएका छन् । यिनै दुई केटाहरूको बदमासी , छलछम चकचक र उपद्रोको घनत्वमा अन्य सहायक कथाहरू संगालिएका छन् ।

इटौरा गाउँमा अभाव छ । अन्याय र अतिचार छ । मुखिया प्रथा छ । शोषण र कुरीतिहरू छन् । महिला प्रतिको सोच र व्यवहार निम्नस्तरको छ । धाक छ । धम्की छ । गरिबी र ऋण छ यद्यपि पर्वहरू पनि छन् । रसरङ छ । विवाह ,भोज र तमासाहरू छन् । हाँसो छ । रहरहरू छन् । उत्तेजना छ । रिस र डाह पनि छ । अनि छ रोमाञ्चकता र रंगिन सपना देख्ने आँखाहरू ! ठग र धुर्तहरू छन् । चोरी चकारी र बेइमानीहरू बीच पनि अटल आस्था र विश्वासकी देवी नन्दभाउजू ताल इटैरियाकी आँखामा बसेकी छन् । तुलेले गर्ने बदमासीका कथा भनि साध्य छैनन् । बुढेसकालमा जन्मेको, त्यो पनि अनेक भाकल गरेर । गाउँमा पुँजीवादी बिलासिता पस्दै गर्दा तुले जस्ताहरूको रहरको वृक्ष झाँगिदै जान्छन् । तुले तन्नम बाउको खल्तीबाट धेरैथोरै पैसा झिकिरहन्छ । उसकी दिदीको नाममा परेको रंगीन टिभिको चिट्ठा परेर पनि लिन नपाएको पिरलो मन हुँडल्ने खालको छ । किशोर वयमा सुरु हुने विपरीत लिंगीय आकर्षणको तीव्रताले तुले कहिले रेडियो मार्फत् पत्रमित्रता गर्छ कहिले आफूभन्दा धेरै उमेरकी रुबीलाई बेस्सरी मन पराउँछ । तुलेको हरपलको साथी ईश्वरी उसलाई हर्दम साथ दिइरहन्छ ।

पढ्न लेख्न खासै मन नगर्ने तुले र उसको थारू साथी ईश्वरी जति बदमास हुन् भन्ने ठानिए पनि गाउँघरमा भैपरी आउने बेठिक नियानिसाफका प्रति भने मौन रूपमै सही असहमति जनाइरहेका हुन्छन् । रहस्यको गर्भमा लुकाइएको तर पल प्रतिपल चोट र अपमानमा पिल्सिरहनु पर्ने खुसियाको पीडा देखेर तुले र ईश्वरी हुनसम्म दुःखी हुन्छन् तर निरुपाय बस्छन् किनभने उनीहरू त केटाकेटी नै हुन्छन् । खुसिया जस्ती बहादुर र आँटिली केटीले पेट बोकेपछि वा भनौँ बोकाइएपछि छिनोफानो गर्न बसेको समाजले खुसिया प्रति गरेको अन्यायले सीमा नाघ्छ तर समाजको मुखिया प्रथाको अगाडि कसैको केही लाग्दैन । चटपटे बेच्ने दानेको पुस्तक प्रेम र निडरपनाले तुलेलाई पनि साहसको सञ्चार गरिरहन्छ । गाउँघरको रीतिरिवाजहरू प्रति सदा आलोचनात्मक चेत राख्ने दानेले आखिरमा एक दिन खुसियालाई त्यो हालमा पु¥याउने मान्छे पहिचान्छ । ऊ त तुलेहरूकै स्कुलको हेडसर भएको थाहा पाएपछि भने पाठकहरू तीन छक्क पर्छन् तर हेडसर पक्राउ पर्नु धेरै अघि नै खुसियाले आत्महत्या गरी सकेकी हुन्छे ।

हाक्का हाक्की शीर्षकमा राखिएको ब्लु फिल्म भित्रको कथाले नेपाली समाजमा भित्रिएको पुँजीवादी विकृतिलाई प्रकट गरेको छ । बूढीनदी शीर्षकको कथानकले दिएको हाँसो , चिट्ठी र चिट्ठाभित्रको मोहनीमय वर्णनात्मकता , तालुसरको मस्ती र डर , उल्टेको तुरी च्यापिँदाको रुन्चे हाँसो , सायरीको सर्को , बठिनियाँहरूको छालेपन , पटकाको सांस्कृतिकता , नाङ्गो देख्ने चस्माले नदेखेको विकृति र छललगायत सबै शीर्षकमा इटौरा गाउँको छायाँछवि राम्रैसँग देख्न सकिन्छ । साहित्यिक सौम्यता , भद्रता र कोमलतालाई पनि लेखकले न्याय प्रदान गर्नेछन् भन्ने अपेक्षा गरिएको छ ।

कथा भन्ने वर्णनात्मक शिल्पलाई प्रशस्त निखारेका लेखक ढकालले जौवा उपन्यासमा धेरै मसिना घटना र क्रियाकलापलाई पनि टिप्न भ्याएका छन् । उनको टिपाइ अचाक्ली बोरिङ त छैन अपितु यसमा केही परिमार्जन र परिष्कार आवश्यक छ भन्ने ठानिएको छ । कथाको आरम्भ , विकास र उत्कर्षमा पाठकलाई पुर्या इरहँदा लेखकले तिनको रोमाञ्चकताको तीव्रतामा पनि ध्यान पु¥र्याउँदा जाती हुन्छ । शब्द छनौटमा पनि सामाजिक सीमा भित्रकै सौम्य साहित्यिक परम्परालाई अँगाल्नु श्रेयष्कर हुन्छ भन्ने भद्र सल्लाह दिन मन लागेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>