चितवन विशेष

नारायणी नदी किनारमा उभिएर पर्यावरण जोगाउन चितवनका कविहरुले गरे खबरदारी

Banner

चितवन, जेठ २३–

विश्व वातावरण दिवसको दिन सोमबार नारायणी नदी किनारको माहोल अली बेग्लै थियो । अधिकांश दिन साँझको समयमा घुमघाम र टहलिन पुग्ने मानिसहरु सोमबार साँझ भने कविता सुन्नको लागि नदी किनारमा एकीकृत भए । चितवन र नवलपुरका एक दर्जन बढी नयाँ र अग्रज पुस्ताका कविहरु आफ्नो कविता सुनाउन लामबद्ध थिए । सी बिच मोडलमा नयाँ संरचना बन्दै गरेको नदी किनारमा बुद्धको शालिक अगाडि रुखको फेदमा उभिएर कविहरुले कविता सुनाए । महानगरले प्लास्टिकजन्य फोहोर पुरेर सम्याइएको त्यो ठाउँमा उभिएर कविहरुले कवितामार्फत् संकटमा परेको प्रकृति जोगाउन खबरदारी गरे । सधै प्रकृतिको बयान र गुणगान गाउँनमा शब्दहरु खर्चिने कविहरु त्यस समय भने संकटमा रहेको प्रकृतिलाई जोगाउनुपर्छ भन्ने भावमा सरोकारवालाहरुलाई खबरदारी गरे ।

चितवनको उखरमाउलो गर्मीबाट शीतलता खोज्दै नारायणी नदी किनारमा पुग्ने नागरिकहरुले कविता सुनेर झनै शीतलताको महसुस गरे । निलो टोपी र हाफ पाइन्ट लगाएर नदी किनारमा घुम्न पुगेका स्थानीय कृष्ण मगरले कविहरुको कविता सुनेपछि भने, ‘ म कविता खासै बुझ्ने मानिस त होइन तर पनि नदीको किनारमा उभिएर नदीको संरक्षणबारे कविता सुन्न पाउनु भने जीवनकै राम्रो र रमाइलो संयोग लाग्यो । मानिसले आफूलाई केन्द्रमा राखेर स्वार्थी ढंगबाट काम गर्दा पर्यावरण संकटमा परेको भन्ने जान्ने अवसर पाएँ ।’

कविहरुलाई नदी किनारमा जुटाउने संयोग भने अक्षर समूह चितवनले मिलाएको थियो । पर्या–कविता वाचन कार्यक्रममा चितवन र नवलपुरका १६ जना कविले पर्यावरण संरक्षणसम्बन्धी कविता प्रस्तुत गरेका छन् ।

कार्यक्रमको सुरुवातमा कवि भूपिनले विश्व वातावरण दिवसका सन्दर्भमा भएको पर्या–कविता वाचन कार्यक्रमको औचित्यमाथि टिप्पणी गर्दै संरक्षण कविता आन्दोलनका अगुवा सरुभक्त र प्राध्यापक सञ्जिव उप्रेतीले पठाएका शुभकामनालाई पढेर सुनाएका थिए । कार्यक्रममा उनले आफ्नो ‘नदी’ शीर्षकको कविता र कवि कल्पना आचार्यको ‘प्रकृतिको अदालतमा’ कविता सुनाएका थिए । उनको कवितामा प्रदूषणले मृत्यु नजिक पुगेको नदीलाई आमासँग तुलना गर्दे सन्तानले आफ्नो आमालाई नबिर्सन खबरदारी गरिएको थियो । कार्यक्रममा अघिल्लो पुस्ताका गोविन्द विनोदीदेखि नयाँ पुस्ताकी कवि सुप्रदीप्ती भण्डारीको समेत सहभागिता रहेको थियो । वातावरण विज्ञानकी विद्यार्थी भण्डारीको कविताले प्रकृतिको लय नै जीवनको लय हो भन्ने भाव बोकेको थियो । कवि एवम् पत्रकार सूर्यप्रकाश कँडेलले बञ्चरो, बिँड र हात शीर्षकको कविता सुनाउँदै अहिले मानव जातिलाई आधुनिकताले छोपेकोले आधुनिकताभित्र रुमल्लिन नहुने सन्देश कवितामार्फत दिएका थिए । कार्यक्रममा कवि राजेन्द्र घायल र भागीरथ ठाकुरले गिती लयमा आफ्ना सिर्जना सुनाए ।

स्मल हेभन मोडल स्कुल आँपटारीकी छात्रा प्रसंशा पराजुलीले प्रकृति र वातावरणलाई हामी आफैले बिगार्दै गइरहेको भावको कविता सुनाइन् । कार्यक्रममा कविहरू अञ्जान प्रदिप, विद्या भण्डारी चिराग, गायत्री अधिकारी, प्रभाकर पण्डित, उपेन्द्र त्रिपाठी, परिवेश मुन्छे, सरला जोशी, उदय अधिकारी, ईश्वर कँडेल र गोविन्दराज विनोदीले कविता सुनाएका थिए ।

समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>