चितवन विशेष

चितवनका स्थानीय सरकार प्रमुखसँग गुनासै गुनासा

Banner
चितवन,जेठ २२-
जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय सरकार र सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले गुनासै गुनासा गरेका छन् । पशुमा देखिएको लम्पी स्किन रोग, रगतको अभाव, खेलकुदमा देखिएको समस्या र बेसहारा मानवमुक्त सडकका विषयमा आयोजना गरिएको अन्तरक्रियामा सहभागी सबैले स्थानीय निकायबाट सहयोग नभएको गुनासो गरेका हुन् ।
समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले आफ्नो वरिपरि जिल्लाका पालिकाहरूका प्रमुख र उपप्रमुखसँगै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू राखेर आफ्ना गुनासा राख्न सरोकारवालाहरूलाई आग्रह गर्नुभएको थियो ।
सो क्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रगत पु¥याउन मुस्किल परेको भन्दै पालिका प्रमुख र उपप्रमुखहरूसँग गुनासो गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ, सचिव रामजी ढकाललगायतका खेलकुदसँग सम्बन्धित विभिन्न व्यक्तिले जिल्लामा खेलकुदमा देखिएका समस्याका बारेमा गुनासो गर्नुभएको थियो ।
लम्पी स्किन नामको पशुमा लाग्ने रोगले जिल्लामा ८० गाईभैँसी मरेको भन्दै भ्याक्सिनका लागि पहल गरिदिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील क्षेत्रीले आग्रह गर्नुभयो । सोही अवसरमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले केही पालिकाले आंशिकबाहेक अन्य पालिकाले बेवारिसे मानवमुक्त सहर बनाउन सहयोग नगरेको गुनासो गर्नुभयो ।
सरोकारवालाहरूको गुनासोको जवाफ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले दिनुभएको थियो । सो अवसरमा उहाँहरूले आउँदा दिनमा सरोकारवालाहरूले उठाएका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले सबैको जवाफ सुनेपछि पालिका प्रमुखहरूलाई नागरिक सरोकारका विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुहुन्छ भन्ने विश्वास छ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>