चितवन विशेष

वातावरण दिवसमा भरतपुरमा सचेतना र्‍याली

Banner

चितवन, जेठ २२-

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा सचेतना र्‍याली निकालिएको छ ।

सप्तगण्डकी वातावरण विज्ञान क्लबको आयोजनामा र सप्तगण्डकी क्याम्पस विज्ञान विभागको सहयोगमा सो सचेतना र्‍याली गरिएको हो ।  र्‍यालीमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरु, प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

सप्तगण्डकी बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय हुँदै चौबिसकोठी पुगी फेरी क्याम्पसमा नै आएर समापन भएको थियो ।र्‍यालीमा विद्यार्थीहरुले ‘प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नगरौं’, ‘वातावरण स्वच्छ र सफा राखौं’ र ‘वायु प्रदूषण कम गरौं’ जस्ता नारा लोखिएको प्लेकार्ड बोकेका थिए ।

वातावरण दिवसकै अवसरमा सप्तगण्डकी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले क्याम्पस परिसरमा झरना र पोखरीसहितको बोटानिकल गार्डेनको उद्घाटन गरेका छन् । त्यसैगरी कार्यक्रममा वातावरण विज्ञान विषयका सहायक प्राध्यापक ध्रुव आचार्यले ‘प्लास्टिकले पार्ने असर’ बारे अवगत गराएका थिए । उनले चितवनसहित देशभर प्लास्टिकको प्रयोग बढ्दै गएको बताउँदै प्लास्टिकले पर्यावरण तथा माटोलाई प्रदूषण गरेको विचार राखे । उनले भने, ‘ प्लास्टिकको कारणले वातावरण प्रदूषित हुदा स्वासप्रश्वास, दम र खोकी जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ । यसले जलवायु परिवर्तन गाराउन महत्वपूर्ण भूमिका खेलेको छ । वार्षिक नेपालमा ३०० मेट्रिक टन प्लास्टिकजन्य फोहोर संकलन हुनु चिन्ताजनक विषय हो । नदीमा प्लास्टिक फाल्दा यसले समुन्द्रका जीवहरु देखि हामीले खाने नुनलाई समेत विषाक्त गरिरहेको छ ।’ आचार्यले यसको रोकथामको लागि नेपालको कानुनअनुसार ४० माइक्रोन भन्दा तलको प्लास्टिकमा बन्देज लगाउनुपर्ने बताए ।

वातावरण विज्ञान क्लबका अध्यक्ष सुगम धितालको अध्यक्षतामा भएका कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, प्राध्यापक संघका सभापति नारायणप्रसाद रेग्मी र विज्ञान विभागका प्रमुख रविराज सुवेदीले कार्यक्रमको महत्व र उद्देश्यबारे अवगत गराएका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई समुदायस्तरमा नै सञ्चालन गर्न आवश्यक रहेको विचार राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>