खैरहनी
पूर्वी चितवनकै जेठो विद्यालयमा अझै टिनको छानामूनि पढाई

कारी महतो
चितवन, जेठ २०–
वि.सं. २०१२ सालमा स्थापना भएको पूर्वी चितवनकै जेठो विद्यालयमा अझै पनि टिनको छानामूनि पढाइ हुने गरेको सुन्दा पत्यार नलाग्न सक्छ । तर कुरा साँचो हो । खैरहनी नगरपालिकाकै केन्द्रविन्दु मानिने खैरहनी माध्यमिक विद्यालयको प्रावि तहको सबै कक्षाहरू घाममा तात्ने र वर्षामा चुहिने टिनको छानामुनि पढाइ हुने गरेको छ । नर्सरी, केजीसहित कक्षा एकदेखि पाँचसम्म र प्रावि अफिस अफिसको आठ वटा कोठामा तातो छेक्ने जिप्सन वा प्लाई समेत छैन । गर्मी मौसममा जस्तापाता तातेर अत्यधिक गर्मी हुने एवम् पानी पर्दा चुहिने कारणले विद्यार्थीको पठनपाठनमा निकै समस्या छ ।
गर्मीका कारण विद्यार्थीहरू टाउको दुखेको भनेर कक्षाकोठामा निदाउने र कोही सर्ट फुकालेर झोलामा राख्ने गर्छन् । शिक्षकहरूले पनि जति सिकाउनुपर्ने, त्यति सिकाउन नसककेको बताउँछन् ।
स्थापनाकालमा राष्ट्रिय प्रथमिक विद्यालय मझुई नामबाट शुरू भएको विद्यालयको नाम महेन्द्र विद्याश्रम, पृथ्वी मावि हुँदै खैरहनी माविसम्म नाम फेरिदै गयो । हालसम्म सत्र जना प्रधानाध्यापक फेरियो, त्यति नै पटक विद्यालय व्यवस्थापन समिति फेरियो, कैयौं शिक्षक र हजारौं विद्यार्थी फेरिदै गए । तर विद्यालयको अवस्था फेरिन सकेको छैन । खैरहनी नगरपालिकाकै केन्द्रमा रहेको स्कुल भएपनि बत्तीमूनिको अध्यारो जस्तै विद्यालयको अवस्था छ । साविक नगरपालिका कार्यालय तथा ६ नं. वडा कार्यालयको आँगनै जोडिएको यो स्कुलको अवस्था फेर्न सरोकारवाला कसैको चासो देखिएको छैन ।

शैक्षिक गुणस्तर सुधार गर्न भनी खैरहनी नगरपालिकाले कार्यविधि तयार गरी नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ९२ जना शिक्षकहरूको सरूवा गरेको छ । तर खैरहनी माविको प्रावि तहको अवस्था सुधार गर्न नगरपालिका र वडाका जनप्रतिनिधिहरूको ध्यान पुग्न सकेको छैन ।
हालै सरूवा भई आएका प्रधानाध्यापक गोपाल प्रसाद शर्माले विद्यालयको प्रावि तहको अवस्था देखेर मुटु नै छोएको प्रतिक्रिया दिएका छन् । सबैभन्दा माया गर्नुपर्ने बालबालिकाहरूमाथि अन्याय भएको रहेछ । प्रअ शर्माले केही समयभित्रै प्रावि तहको कक्षाकोठा व्यवस्थापन गर्ने जनाएका छन् ।
अत्यधिक गर्मी बढेसँगै चितवनका पाँच वटा स्थानीय तहले साउनमा हुने वर्षे विदा कट्टा हुने गरी एक हप्ता गर्मी बिदा दिएका छन् ।