समाचार
रास्वपा सांसदले गरे ‘सांसद विकास कोष’ खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता

काठमाडौं, जेठ १९–
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ‘सांसद पूर्वाधार विकास कार्यक्रम’ अर्थात सांसद विकास कोष खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता गराएका छन् । बिहीवार संसद सचिवालयमा रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा सो कोष खारेजीको माग सहित संकल्प प्रस्ताव दर्ता गरिएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ वर्ष अघि देखि छोडिएको विवादित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई समावेश गरिएको भन्दै उनीहरुले यो कार्यक्रमबाट राष्ट्रको ढुकुटी दोहन हुने बताएका छन् ।
विकास निर्माणका स्थानीय आवश्यकताहरू पूरा गर्न निर्वाचित जनप्रतिनिधिमार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि रू ५ करोड विनियोजन गर्ने कार्यक्रमले देशको अर्थतन्त्र धरासायी बनाउन सहयोग पुग्ने उनीहरुको तर्क छ ।
यो कार्यक्रम अन्तर्गत ८ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ जुन कार्यक्रमले नेपाली जनतामा आर्थिक भार थप्ने र भ्रष्टाचारलाई बढावा दिने उल्लेख गरेका छन् ।