कृषि

चितवनका तीन हजार दुई सय बिघा जग्गा सिञ्चित

Banner

चितवन, जेठ १८- 

चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ । यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ ।

आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले  बताउनुभयो । अहिलेसम्म रु ६० करोड बराबरको काम भएको उहाँले जानकारी दिनुभयो । अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ ।

स्याङ्वोले भन्नुभयो, “सिँचाइ अभावका कारण खेती गर्नबाट बञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ ।” आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ । यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ । विसं २०८१÷८२ सम्मका लागि यस आयोजनामा रु चार अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>