चितवन विशेष

अर्थतन्त्र बिग्रिएको मौका छोपेर देशमा विदेशीको चलखेल बढ्योः पृथ्वीसुब्बा गुरूङ

Banner

चितवन,जेठ १६-

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सरकारले संघीयता विरोधी बजेट ल्याएको बताएका छन्। भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरूङले संघीय मन्त्रालयको तुलनामा असाध्यै कम बजेट दिएर प्रदेश सरकारलाई असफल बनाउने प्रयास बजेटले गरेको बताए।

‘संघीय सरकारले ल्याएको बजेट एकात्मक छ। प्रदेश सरकारलाई थोरैमात्र बजेट दिएको छ। एकात्मक राज्यमा नगर, गाउँ पञ्चायतलाई बाँडेजसरी बजेट बाँडिएको छ,’ गुरूङले भने, ‘यो सरकारले संघीयतालाई असफल बनाउने प्रयास गरेको छ। संघीय देश हो भन्ने बजेटमा पटक्कै देखिएन।’

उनले बजेट कर्मकाण्डी, निबन्धजस्तो आएको बताए। ‘देश आर्थिक मन्दीमा फसेको बेलामा अर्थतन्त्रको प्रस्ट व्याख्या नभएको, समस्याको पहिचान नगरेको, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलाई बेवास्ता गरेर बजेट आयो,’ उनले भने, ‘समस्याको चाङमाथि उभिएर बजेट विनियोजन गरिएको छ। सुशासन कसरी कायम गर्ने भनेर पनि क्लियर छैन।’

गुरूङले अर्थतन्त्र बिग्रिएको मौका छोपेर देशमा विदेशीको चलखेल बढेको बताए। राजतन्त्रले टाउको उठाउन खोजेको र युवाको मनोविज्ञानमा खेलेर दर्शन, सिद्धान्त केही नभएका दलहरू हावी हुन खोजेको उनले बताए। ‘यस्तो बेलामा प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। तर राष्ट्रियताको एजेण्डामा त्यहाँ कुरा हुँदै छैन। गुमेको भूभाग फिर्ता गर्ने एजेण्डा समावेश नै छैन,’ उनले भने, ‘एमसिसी र एसपिपीको एजेण्डा बोकेर भ्रमणमा जान लागेजस्तो देखिन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>