Breaking News

चितवनको लोथरसम्म ल्याइने पेट्रोलियम पाइप लाइन परियोजनाको भारतमा शिलान्यास हुने

Banner

चितवन, जेठ १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ ।

भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ ।

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बंगालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो । त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ । नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । सो आइसिपी ८७ बिघा क्षेत्रफलमा फैलिएको छ ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । यस विषयमा भ्रमणको क्रममा त्यसका लागि भारतसँग सम्झौता हुने बताइएको छ । सोमबार सार्वजनिक भएको बजेटमा पनि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने उल्लेख छ ।

चितवनसम्म ६९ किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्ने

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे दुई देशको संयुक्त अध्ययन सकिएको छ । मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म बिस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएको हो । संयुक्त कार्यदलले डीपीआर कार्ययोजना मोडालिटीसम्बन्धी काम सकेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>