Breaking News
सांसदहरुलाई प्रचण्डको ब्रिफिङः नेपाली जनतामा गलत सन्देश जाने भारतसँग कुनै सम्झौता गर्दिनँ

काठमाडौं, जेठ १६-
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।
भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएको सांसद माधव सापकोटाले बताए ।
प्रधानमन्त्रीको भनाइ उधृत गर्दै सांसद सापकोटाले भने, ‘प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो ।’
बैठकमा भारत भ्रमणसँगै सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा पनि प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए । सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जाने बताए । भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको सांसद सापकोटाले बताए ।