विचार/ब्लग

थाइराइड सम्बन्धि व्याप्त धारणा र वास्तविकता

Banner

डा किशोर गौतम

प्रत्येक वर्ष May २५ को दिन विश्वभरि नै थाइराइड दिवस (World Thyroid Day) मनाइन्छ । यसको मुख्य उद्देश्य थाइराइड सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु गरेर यसका लक्षणहरु तथा समस्याहरुको बारेमा जानकारी गराउने र यसलाई समयमै पत्ता लगाएर उपचार गर्न (Early diagnosis & treatment) मद्दत पु¥याउने हो ।

हर्मोन उत्पादन गर्ने प्रणालीलाई समग्रमा इन्डोक्राइनोलोजी (Endocrinology) भनिन्छ । यस अन्तर्गत थाइराइड (Thyroid) एउटा प्रमुख ग्रन्थी हो । यो घाँटीको अघिल्लोपट्टि हुन्छ । यो मात्र २५ देखि ३० ग्रामको हुन्छ ।

थाइराइड ग्रन्थीको मुख्य काम भनेको शरीरमा थाइराइड हर्मोनहरुको उत्पादन गर्नु हो । यो रगतको माध्यमबाट शरीरको विभिन्न अङ्गहरुमा पुगेर अङ्गहरुलाई चलायमान (Metabolism) गर्ने काम गर्छ । थाइराइड हर्मोनको मात्रामा कमी वा बढी भएमा थाइराइडको समस्या देखिन्छ ।

थाइराइड हर्मोन कम भएमा हाइपोथाइराइडिज्म (Hypothyroidism) भनिन्छ भने बढी भएमा हाइपर थाइराइडिज्म (Hyperthyroidism) भनिन्छ ।

लक्षणहरुः (Hypothyroidism) (हाइपो)

–तौल बढ्ने

–खानामा रुचि कम हुने

–कब्जियत हुने

–थकाइ लाग्ने, जाँगर नलाग्ने

–महिनावारीको समयमा धेरै रगत बग्ने

–छाला सुख्खा हुने

(Hyperthyroidism) (हाइपर)

–तौल घट्ने

–मुटु ढुक्ढुक् गर्ने

–हात काँप्ने

–दिशा निरन्तर लागिरहने

–छटपटी हुने

–महिनावारीको बेलामा कम रगत बग्ने

–कतिपय व्यक्तिमा आँखा बाहिर निस्कने (Proptosis)

कसरी निदान गर्ने ?

रगतमा Thyroid Function Test गरेर (fT3, fT4 / TSH) Hypo वा Hyper कस्तो प्रकारको छ भन्ने कुरा पत्ता लगाएर उपचार गर्नुपर्दछ । थाइराइड सम्बन्धि हाम्रो समाजमा धेरै थरिका भ्रमहरु रहेको पाइएको छ । जस्तैः

भ्रम :
थाइराइडको औषधि जीवनभर खानुपर्दछ ?

यथार्थ :
औषधि कति समयसम्म खाने भन्ने कुरा थाइराइडको कारणमा भर पर्दछ । भाइरल थाइराइडाइटिस (Post Viral Thyroiditis) तथा डेलीभरी पछी हुने थाइराइडाइटिस (Post-Partum Thyroiditis) भएको व्यक्तिहरुले केही समय औषधि खाएर बन्द पनि गर्न सकिन्छ तर Hashimoto Thyroiditis भएका व्यक्तिहरुले भने औषधि जीवनभरनै खानु पर्ने हुन्छ ।

भ्रम :
थाइराइडको समस्या महिलालाई मात्र हुन्छ ?

यथार्थ :
यो महिला–पुरुष दुवैमा हुनसक्छ, तर महिलामा बढी हुन्छ ।

भ्रम :
थाइराइड भएको महिलामा गर्भ बस्दैन ?

यथार्थ :
गर्भाधारण गर्नुअघि थाइराइडको जाँच गरि TSH को लेवल ०.५ देखि २.५ सम्म राखेमा गर्भ बस्न कुनै समस्या हुँदैन । साथै गर्भवती महिलाहरुले नियमित जाँच गरेर आवश्यक परेको खण्डमा औषधिको मात्रा बढाएर पनि खानुपर्ने हुन्छ । Hypothyroidism मा प्रयोग गरिने औषधिले बच्चालाई कुनै पनि हानी गर्दैन । त्यसैगरी Hyperthyroidism भएका महिलाले गर्भ बस्नुभन्दा पहिला कम हानी गर्ने औषधि खानुपर्दछ ।

भ्रम :
थाइराइड भएका व्यक्तिहरुले हरियो सागसब्जी, बन्दागोभी वा काउली खानुहुँदैन ?

यथार्थ :
बन्दागोभी, काउलीजस्ता खानेकुराहरुले Iodine लाई निष्किृय बनाएर थाइराइड हर्मोन उत्पादनमा कमी ल्याउन सक्छ तर यो समस्या हुनका लागि धेरै नै मात्रामा खानुपर्दछ । अर्को कुरा, बन्दागोभी, काउलीजस्ता खानेकुरालाई राम्ररी पकाएर खाँदा यो समस्या आउदैन । झनै महत्वपूर्ण कुरा त के छ भने हरियो सागसब्जी र तरकारीमा प्रसस्त मात्रामा फाइवर (Fibre), भिटामिन, Antioxidant हुन्छ, जसले रोगसंग लड्नसक्ने क्षमतालाई बढाउछ । त्यसैले Thyroid को समस्या भएका व्यक्तिहरुले यी सब्जीहरु खन मिल्छ ।

भ्रम :
थाइराइडलाई खानपान र योगबाट निको पार्न सकिन्छ ?

यथार्थ :
थाइराइड एउटा हर्मोन सम्बन्धि समस्या भएकोले खाना तथा योग बाट मात्र यसलाई ठिक बनाउन सकिदैन । थाइराइडको कुन प्रकारको समस्या हो त्यो पत्ता लगाएर औषधिको माध्यमबाट थाइराइड हर्र्मोनलाई नर्मल लेभलमा ल्याउनु पर्दछ । सन्तुलित खानपान र योगले हाम्रो शरिरको स्फूर्ति बढाउछ र शरिरलाई स्वास्थ्य राख्न मद्दत पु¥याउछ ।

लेखक डा किशोर गौतम नारायणी सामुदायिक अस्पतालमा फिजिसियनका रुपमा कार्यरत छन् ।

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>