चितवन विशेष

गृहिणी महिलाहरुलाई सीप सिकाउँदै नारायणगढ लायन्स

Banner

चितवन, जेठ १०–

नेपालमा धेरैजसो महिलाहरु सीप नभएकै कारण बेरोजगार छन् । उपयुक्त तालिम र अवसर नपाउँदा महिलाहरु आफ्नो क्षमता देखाउन नपाएका धेरै उदाहरण छन् । यीनै समस्या देखेरै चितवनकै सबैभन्दा पुरानो नारायणगढ लायन्स क्लवले महिलाहरुलाई सीप सिकाउने कार्यलाई प्राथमिकता दिँदै आइरहेको छ । बेरोजगारी अन्त्यका साथै महिलाहरुलाई आफ्नै खुट्टामा उभिनका लागि सक्षम बनाउने उद्देश्यले नै क्लवले विगत लामो समयदेखि व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आइरहेको छ ।

सन् १९८२ मा स्थापना भएको नारायणढ लायन्स क्लवले आर्थिक रुपमा विपन्न असहाय, बेरोजगारहरुलाई स्वालम्बी बनाई आफ्नो जीवन धान्न सक्षम बनाउने उद्देश्यले लायन जीत बहादुर पिया व्यवसायिक तालिम केन्द्र स्थापना गरेको थियो । जसलाई लायन्स भवन पनि भन्ने गरिएको छ । यही भवनकै नामबाट नारायणढको लायन्स चोक समेत रहन गएको हो । यही भवनमा क्लवले थुप्रै व्यवसायिक तालिमहरु प्रदान गरेको छ । यीनै कार्यहरुलाई निरन्तरता दिँदै क्लवले पछिल्लो समयमा महिलाहरुको सहजताका लागि उनीहरुकै ठाउँमा पुगेर तालिम दिन थालेको छ ।

विगत ९ महिनादेखि क्लवले जिल्लाको माडी नगरपालिकाका विभिन्न वडाहरुमा महिलाहरुलाई सक्षम र व्यवसायिक बनाउन सिलाईकटाई तालिम प्रदान गरेको छ । माडी–१ को पाण्डवनगरका ११ जना, चैनपुरका ३६ जना र शिखारीपुरका ३४ जना गृहिणी महिलाहरुलाई तालिम प्रदान गर्दै प्रमाण पत्र समेत वितरण गरेको छ । ‘गृहिणी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम प्रदान गरेका हौं, आगामि दिनमा यस्ता तालिमहरुलाई निरन्तरता प्रदान गर्नेछौं’–नारायणगढ लायन्स क्लवका अध्यक्ष शान्त कुमार पियाले भने ।

लायन जीतबहादुर पिया व्यावसायिक तालिम केन्द्रले सिलाईकटाई मात्र नभई अन्य धेरै तालिमहरु प्रदान गरि सकेको छ । आफ्नो स्थापनाकालदेखि समयकाल अनुसार कम्प्युटर तालिम, व्युटिपार्लर तालिम, खेलौना बनाउने तालिम, इन्भाईडरी तालिम, सिलाईकटाईलगायतका तालिमहरु प्रदान गर्दै आइरहेको तालिम केन्द्रका कार्यक्रम संयोजक लायन प्रशान्त कुमार पियाले बताए । ‘आगामि दिनमा समय परिस्थितिकाल सुहाउँदै तालिमहरु प्रदान गर्छौ, सीप नभएकै कोही पनि बेरोजगार हुन नपरोस् भन्ने हाम्रो चाहना हो’–संयोजक पियाले भने ।

पछिल्लो समयमा विभिन्न सामाजिक संस्थाहरु खुलेका छन् । नारायणगढ लायन्सले भने सधै रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । ‘हामी सामान्य कर्मकाण्डी कार्यक्रमहरुलाई खासै ध्यान दिएका छैनौं, सिपमुलक कार्यक्रमहरुलाई निरन्तर अघि बढाउने छौं’–क्लवका अध्यक्ष शान्तकुमार पियाले भने ।

सीपमुलक सिलाईकटाई तालिम प्राप्त गरेपछि गृहिणी महिलाहरु निकै खुशी देखिन्थे । प्राप्त तालिमले जीविकोपार्जनमा धेरै टेवा पुग्ने उनीहरुको भनाई थियो । जीवनउपयोगी तालिम पाएपछि स्थानीय महिलाहरुले लायन्स क्लवलाई धन्यवाद दिनुको साथै आगामि दिनमा यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए । महिलाहरुले आयोजक संस्थालाई उपहार स्वरुप मायाको चिनो समेत प्रदान गरेका थिए ।

तालिम समापन समारोहमा क्लवका अध्यक्ष लायन शान्तकुमार पियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लवका कार्यक्रम संयोजक लायन उमेश पिया, लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रका कार्यक्रम संयोजक प्रशान्त कुमार पिया, क्लवका प्रथम उपाध्यक्ष राजु पिया, कार्यक्रम स्थानीय संयोजक धनबहादुर गुरुङ, क्लवका पूर्व अध्यक्षहरु लायन कृष्ण धिताल, लायन विवश पिया, लायन निरज श्रेष्ठ, टेमर लायन सुबोध श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>