मनोरञ्जन

उपेन्द्र सुब्बाको चलचित्र ‘जारी’: अगाध प्रेम र अटुट सम्बन्धको कथा

चलचित्र समीक्षा:

Banner

एलबी क्षेत्री

उपेन्द्र सुब्बाको नेपाली चलचित्र ‘जारी’ अष्ट्रेलियाको पर्थमा हेर्ने अवसर जु¥यो । चलचित्र मलाई धेरै राम्रो लाग्यो । यो प्रेमको कथा हो र मलाई न्यायको कवितामय भाषा बोल्ने प्रेम कथा निकै मन पर्छन् । चलचित्रको शीर्षक ‘जारी’ले दर्शकलाई झुक्याउन् सक्छ, कतै यो नेपाली समाजको जारी प्रथाबारे विशेष अध्ययन त होइन ? तर होइन, यो त परिवारकोे, पति–पत्नी बीचको अगाध प्रेम र अटुट सम्बन्धको कथा हो । सम्बन्ध बिच्छेदबाट सुरु भएको चलचित्र ‘जारी’ मा कथा खासै छैन किनकी पुनः मिलनमा टुंगिन्छ । तर, लामो पटकथाको आशय लिम्बु समुदायको समाज, रीतिरिवाज र प्रथाबारे चर्चा गर्नु पनि हो र यो स्वाभाविक छ साथै सुन्दर छ । यी सबैको मिश्रणले ‘जारी’ चलचित्र दर्शकहरूका लागि मनोरञ्जन, सीप र अध्ययनका लागि सुन्दर चलचित्र बनेको छ । यस चलचित्रमा उपेन्द्र सुब्बाको निर्देशन राम्रो छ । साथै लिम्बू समाजको कविताको उपस्थिति छ । प्राकृतिक सुन्दरतालाई परिभाषित गर्ने पहाड, हिमाल, सूर्योदय, सूर्यास्तका दृश्यहरू त छदै छन् । पहाडी भेगका नदीनाला, खोल्सा, पानी पँधेरो सबै छन् । आज पनि त्यहाँका मान्छे ढिकी र जाँतो युगमा बाँचिरहे छन् वा उपेन्द्रको कथा ढिँकी र जाँतो युगको कथा हो । यो दर्शकको बुझाइमा छोड्नु पर्छ । मलाई लागेको यस चलचित्रले हाम्रो नेपाली संस्कृतिको सौन्दर्य प्रस्तुत गरिरहेछ ।

प्रेमबारे बहस, प्रतिक्रिया, प्रेमको सिद्धान्तलगायत चाख लाग्दा विषय त हुन् नै । केही दिन अघि गायिका समीक्षा अधिकारीले प्रकाश सुवेदीको अन्तर्वार्तामा भनिन् – ‘मलाई उसको अझै माया लाग्छ्र’ उनले धोखा पाइन्, निकै बदनाम भइन् र अझै उनको आलोचना हुन्छ तर पनि आफ्नो प्रेमबारे भन्छिन्, ‘म उसलाई अझै माया गर्छु ।’ प्रेम आफैमा अबोध हुन्छ प्रेम निर्दोष हुन्छ, दोष व्यक्तिको हुन्छ, समाजको हुन्छ वा रूढीवादी प्रथाको हुन्छ ।’
अलिकति समझको पनि फरक हुन्छ । मेरो कथा संग्रह ‘व्रत्भंग’को प्रतिक्रियामा कतिपयले भन्नु भयो, ‘एलबी क्षेत्री यौन कथा लेख्छन् , गलत हो यो, म यौनको होइन प्रेम वा सम्बन्धको कथा लेख्छु । यौन मनोविज्ञानका पनि केही कथा छन् तर यौनका छैनन् । प्रेम र यौनमा फरक हुन्छ । मेरा कथाले भन्छन् ।

जारी चलचित्रमा एउटा दृश्य छ, ‘नायक दयाहांङ राई नायिका मिरुनाको छातीमा टाउको राखेर पश्चतापका आँसु रुन्छन् । केही वर्ष अघि कोहलपुरमा महानन्द ढकाल सरको एउटा अन्तर्वार्तामा मैले भनेको थिएँ, ‘मेरो मान्यता अनुसार पुरुष एउटा कमजोर प्राणी हो । महिलाले उसलाई संरक्षण दिनु पर्छ । ’ यो मैले मात्र भनेको होइन । ‘क्यान्डिडा’ नाटकमा जर्ज बनार्ड शाकी महिला पात्रले पति र प्रेमीबीच रोज्नु पर्दा ‘म कमजोरलाई रोज्छु’ भनेकी छन् र पतिलाई रोज्छिन् । जारी चलचित्रमा पति पात्र पुरुषलाई निकै कमजोर देखाइएको छ । पुरुष कमजोर मात्र होइन आमा र पत्नी (अर्थात महिला)को अभावमा परिवार कसरी अपूर्ण बन्न पुग्छ सोध गरिएको छ । अनि प्रेम ? प्रेमलाई शक्तिको रूपमा व्याख्या गरिएको छ । जब नायक नायिकाको छातीमा आफ्नो टाउको राखेर रुन्छ । वास्तवमा उसले आफ्नी आमाको छातीमा टाउको राखेर पश्चाताप गरेको हो । आमा र पत्नी दुवै महिला हुन् । दुवैको प्रेम–छहारीमा पुरुषले आफूलाई सुरक्षित पाउँछ र अभावमा आफूलाई असुरक्षित देख्छ । यसरी नारी पुरुष भन्दा शक्तिशाली प्रमाणित हुन्छन् । नायिकालाई भगाएर लाने पाहुना कलाकार चलचित्रको अन्तिम दृश्यमा देखा पर्छन् तर चुपचाप जान्छ । उसले प्रेमको शक्ति बुझेर गएको हुनुपर्छ ।

अब अलिकति स्क्रिप्ट र अभिनयको कुरा गरौँ । चलचित्रको पहिलो भाग अलिक तीव्र (फास्ट) छ । दोस्रो भागले लय (रिदम) लिएको छ तर कथासँग अन्याय भएको छैन किनकी ‘जारी’को आरम्भ नै छोडपत्रबाट छ । अनि पो कथाले चलचित्रको पहिलो भागको अन्तिम तिरबाट सुरु भएर दोस्रो भागको अन्त्यसम्म लय समात्न सफल हुन्छ । परिवारमा महिलाको महत्व, पत्नीको स्थानबारे एउटा बहस छ वा बौद्धिक भाषामा विमर्श छ । यही बहस वा विमर्शलाई निर्देशकको सुन्दर निर्देशनमा कलाकारहरूले सुन्दर अभिनयद्वारा सफल बनाएका छन् । नायकको आक्रोशित पति (पुरुष) को घरेलु हिंसा अभिनय निकै राम्रो छ । केही अघि नायिका मिरुनाले एक पटक एकजना भिक्षुलाई ब्याड टचको आरोपमा झापड लगाएको खबर आएको थियो अर्थात् उनको व्यक्तित्व आक्रोश रोक्न असमर्थ छ । त्यो रियालिटी शो थियो र चलचित्रमा पनि आक्रोशित पत्नीको भूमिकामा निकै प्रभावशाली छन् । ‘म पनि सुब्बाकी छोरी हुँ’ ‘मलाई थारी भन्छस् तँ नामर्द’ आदि संवादमा मिरुनाले पूर्ण न्याय गरेकी छन् । नारी स्वाभिमान देखिएको छ । अब स्क्रिप्ट लेखकले मिरूनालाई कति नायकलाई कति लेखे त्यसमा भर पर्छ तर नायिकाको पति, परिवार र समाजद्वारा पीडित महिलाको भूमिकामा उनको अभिनय निकै प्रभावकारी छ । माइत र घर अनि स्वाभिमान र पति प्रेम छुट्टाछुट्टै समय र परिवेशमा अभिनयद्वारा सबैको भूमिकामा सामञ्जस्य स्थापित गर्न चुनौतीपूर्ण हुन्छ र उनले यो चुनौतीलाई स–सम्मान स्विकारेकी छन् ।

अन्तिम दृश्यमा नायक अघि हिँड्दै गरेको नायक पछि आउँदै गरेकी नायिकालाई पर्खन्छ र पत्नीलाई अघि लगाएर आफू पछि–पछि हिँड्छ । यो अवश्य नै कवि उपेन्द्रको कविता हो र यसको सांकेतिक अर्थ निकै अर्थपूर्ण छ । पुरुषले महिलाकै अगुवाइमा हिँड्नु पर्छ ।
समालोचनाको राम्रो पक्ष के भने एउटा दृश्यमा नायकले नायिकालाई एक झापड हिर्काउँछ अनि एक ठाउँमा लातले हिर्काउँछ÷हिर्काउने प्रयास गर्छ । प्रतिक्रिया वा सामाजिक सञ्जालमा यस्ता दृश्यहरूको विरोधमा महिला नारीवाद वा महिला अधिकारवादको कुनै विरोध छैन । कथामा पुरुष पतिद्वारा तिरस्कृत भएर निष्कासित भएकी महिला पति कै घर किन फर्कनु पर्‍यो उनी त एकल पनि बाँच्न सक्छिन् । सक्थिन् जस्ता प्रश्न वा स्वर सामाजिक सञ्जालमा सुनिएनन् । तपाइँ र तपाइँको पूरै टिमलाई हार्दिक बधाई छ कवि उपेन्द्र सुब्बा जी ।

( समीक्षक क्षेत्री चितवनका अग्रज साहित्यकार हुन् । उनी अहिले अष्ट्रलियाको पर्थमा बस्छन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>