Breaking News

चितवनबाट पीएचडी गर्ने सपना लिएर जर्मन पुगेका डाक्टर बसन्त कफिनमा फर्किए

Banner

मधुसूदन दवाडी

चितवन, चैत १३-

‘मृत्युको हुँदैन भर’ भनेझै कतिबेला कसको के कारणले  मृत्यु हुन्छ भन्ने निश्चित हुँदैन । खाडीका देशहरुमा जोखिमपूर्ण काम गर्ने नेपाली युवाहरु दुर्घटनामा परी कफिनमा फर्किएको कतिपय समाचार त हामीले सुनेकै हो । तर, बिडम्बना जर्मनमा पीएचडी गर्न गएका पशुचिकित्सक  विश्वविद्यालयको सबै पोजेक्ट वर्क सकेर सुतेको अवस्थामा अचानक बिरामी भएर निधन भएपछि कफिनमा फर्किनु परेको छ ।

पीएचडी गर्ने आकांक्षा लिएर जर्मन पुगेका चितवनका पशु चिकित्सक डा बसन्तकुमार अधिकारी जर्मनमा निधन भएपछि कफिनमा फर्किएका हुन् ।

बिरामी भएर गत फागुन ३० गते जर्मनमा निधन भएका अधिकारीको शवलाई नेपालमा ल्याएर देवघाटमा आज सोमबार परिवारले अन्तेष्टि गरेका छन् । भरतपुर महानगरपालिका–४ लंकू धारापानी टोलका स्थायी बासिन्दा अधिकारी बच्चादेखि नै निकै मेधावी विद्यार्थी थिए । विसं २०५३ सालमा जन्मिएका उनले नारायणगढको लिटल फ्लावर स्कुलबाट एसएलसी विशिष्ट श्रेणीमा उर्तीर्ण गरेपछि भरतपुरकै अर्किड कलेजबाट विज्ञानमा १२ कक्षा विशिष्ट श्रेणीमा उर्तीर्ण गरेपछि पक्लिहवा क्याम्पसबाट पशु विज्ञान विषयमा बीएस्सी भेटनरी उतीर्ण गरेर पशु डाक्टर बनेका थिए । पक्लिहवा क्याम्पसमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिवसमेत बनेका अधिकारी राजनीतिमा विशेष रुचि राख्ने व्यक्ति थिए । उनीसँगै विद्यार्थी राजनीति गरेका अमृत मिश्र र तिलक भुसालले स्वर्गीय अधिकारी पढाइ र विद्यार्थी राजनीतिमा सफल व्यक्ति भएको बताए । उनीहरुले भने, ‘ चितवनसहित देशले नै एउटा बहुप्रतिभाको धनी व्यक्तिलाई गुमायो । सायद आज परिवारबाट टाढा हुनुपर्ने बाध्यात्मक परिस्थिति राज्यले सृजना नगरीदिएको भए सायद आज यो अपृय घटना हुनुबाट जोगिने केही सम्भावना हुने थियो । थाहा छैन अझै कति बसन्तहरू यसरी बाकसमा फर्किनुपर्ने हो । ’ उनीहरुले यस्तो पीडादायी अवस्था अन्य नेपाली युवाहरुले भोग्न नपरोस् भन्ने कामना पनि गरे ।

स्वर्गीय अधिकारी पूर्ण छात्रवृत्तिमा अध्ययनको लागि ६ महिना अगाडि जर्मनको गोटिङगेन विश्वविद्यालयमा पीएचडी अध्ययनको लागि पुगेको उनको भिनाजु राजु खड्काले नारायणी अनलाइनलाई बताए । उनी सुतेकै अवस्थामा हर्ट अट्याक भएको भिनाजु खड्काले बताए । फागुन २८ गते अचानक बिरामी भएपछि उनलाई अस्पताल पु¥याइएकोमा ३० गते उनको मृत्यु भएको थियो । सेवानिवृत्त भारतीय सेना पोष्टबहादुर अधिकारीको तीन छोरामध्ये बसन्तकुमार कान्छा छोरा थिए । परिवारमा केही गर्ने सम्भावना र क्षमता राख्ने छोरा गुमाउँदा अहिले अधिकारी परिवार शोकमा डुबेको छ । उनका भिनाजु खड्काले भने, ‘ विदेशमा काम गर्ने भन्दा पनि पीएचडी गरेर नेपाल फर्कने सोचमा बसन्त जर्मन गएको थियो । अध्ययन पूरा गरेपछि अनुसन्धान, काम र राजनीतिलाई सँगै अगाडि बढाउने उसको सोच थियो तर अहिले ऊ कफिनमा नेपाल फर्कन बाध्य भयो । सारै दुःखद् घटना घट्यो ।’ स्वर्गीय बसन्त स्याङ्जा जिल्लाको पशुसेवा कार्यालय वालिङमा दुई वर्ष पशु चिकित्सकको रुपमा काम गरेपछि जर्मन गएका थिए ।
उनको साथी अमृतले बसन्तलाई सम्झँदै भने, ‘ शान्त स्वभाव, हसिलो अनुहार, मिठो बोली, सहयोगी व्यवहारका धनी र शाहाकारी व्यक्तित्वको असामयिक निधनले अपुरणीय क्षति भएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>