Breaking News

सहमति कायम नभए म पनि सभापतिको उम्मेद्वारः नेता केसी

Banner

चितवन, असोज १२–

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सहमतीमा नेतृत्व चयन नगरिए आफू सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् ।

आज (मंगलबार) नेपाल प्रेस युनियन चितवन शाखाले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता केसीले आफू अधिकतम सहमतिको प्रयासमा रहेको भन्दै एक भन्दा बढी उम्मेद्वार हुने अवस्थामा आफै सभापति पदमा चुनाव लड्ने घोषणा गरे । आफू व्यक्ति भन्दा विचार र नेता भन्दा नीतिलाई प्राथमिकता दिने संघर्षमा रहेको बताउँदै सहमतिको आधारमा नेतृत्व चयन नभए आफू पनि नछोड्ने दावी गरे । ‘अहिले जो साथीहरु इच्छुक हुनुहुन्छ उहाँहरुबीच नै सहमति गरेर जो भएनि होउँ, एक बनाउँ भन्ने मेरो प्रयत्न हो’ नेता केसीले भने ‘त्यस्तो सबै एक हुन सकेन भने सभापतिको उम्मेद्वार म पनि हुँ ।’

उनले थप्दै भने–‘प्रत्येक व्यक्ति महत्वाकांक्षा मात्र लिएर बस्ने हो भने कसैको पछि लाग्ने अवस्था हुँदैन, म उम्मेद्वार नै हुँ ।’ नेता केसीले वैचारिक राजनीतिमा लागेर अघि बढ्नेलाई आफूले साथ दिने भन्दै व्यक्तिको रुपमा केन्द्रीत भएर लाग्नेलाई साथ दिन नसक्ने स्पष्ट पारे ।

नेता केसीले पार्टी भित्र संगठन शक्ति भन्दा गिरोह शक्ति प्रभावकारी देखिएको भन्दै त्यसलाई तोड्नका सबै कांग्रेसजन एक हुनुपर्ने बताए । अहिले सम्मको कांग्रेस इतिहासमा तराई, पहाड र हिमाल भनेर छुट्टाछुट्टै अधिवेशन गर्ने प्रचलन नभएको स्मरण गर्दै सबै ठाउँमा एकैपटक हुनुपर्नेमा जोड दिए । निर्वाचन कार्यतालिका नवौं पटकसम्म परिवर्तन हुनुले गम्भिर आशंका उब्जाएको भन्दै केसीले भने–‘सत्ता कब्जा गरेजस्तै पार्टीलाई पनि कब्जा गर्ने प्रयत्न भइरहेको छ, निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन गरौं, प्रतिस्पर्धात्मक बनौं ।’ डडेलधुरामा विवादस्पद रुपमा अधिवेशन गरिएको भन्दै यसप्रकारमा अघि बढ्दै गए पार्टी संकटमा पर्ने केसीको भनाई थियो ।

नेता केसीले वर्तमान गठबन्धनको सरकार हनिमुन पिरियडमा रहेको भन्दै अहिले नै धेरै अपेक्षा गर्न नसकिने बताए । तथापी सरकारले अहिलेसम्म पनि पूर्णता पाउन नसक्नु लज्जास्पद रहेको बताए । उनले भने–‘प्रधानमन्त्री देउवा सरकारलाई अगाडि बढाउने भन्दा पनि पार्टी भित्र आफू बलियो हुने कुरामा मात्रै लागेकाले समस्या आएको हुन सक्छ ।’

कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>