Breaking News
सडकमा बस पर्खिएर बसेका आमा छोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु

बुटवल, असोज १२-
ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्।
ठक्कर दिने ट्रक र चितवनको राप्ती नगरपालिकाका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।