चितवन विशेष
पोखरा र चितवनलाई जोड्न खोज्दै बन्जी नेपाल, बन्जी गर्न चितवका पत्रकारलाई छुट

– चितवन, असोज ११
पोखरामा यसै वर्षबाट सञ्चालनमा आएको बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा र चितवनलाई जोडेर पर्यटकीय विकास गर्न खोजेको बताएको छ ।
बन्जी नेपालका अध्यक्ष एवम् बन्जी मास्टर सन्तोष भट्टराईले आज भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चितवनवासीलाई पोखरामा बन्जीजम्प गर्न आउन आह्वान गरे ।
उनले चितवनबाट पोखरा नजिक भएकाले चितवनबासी बिहान गएर बन्जी गरेर बेलुका फर्कन सक्ने बताए । सहर नजिकै रहेकाले पनि एडभेन्चर मन पराउनेहरुका लागि बन्जी नेपाल पहिलो रोजाइ बन्ने उनको विश्वास छ । उनले चितवनका पत्रकारहरुका लागि ५० प्रतिशत छुटमा बन्जी गराउने पनि उनले बताएका छन् ।
पोखरा– १७ रातोपैरामा सेती नदीमाथि रहेको बन्जी लेकसाइडबाट ३ किलोमिटरको दुरीमा रहेको छ । आइएसओ स्टाण्र्डडमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय ‘गो बन्जी’ को नेपाल फ्रेन्चाइज पोखरामा सञ्चालनमा ल्याइएको अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए ।
गो बन्जी (बन्जी जापान) का संस्थापक बिउ रिटालिकले उक्त बन्जी जम्पबाट पहिलो पटक जम्प गरेर सफल परीक्षण गरेका थिए । विश्वभर गो बन्जीका ११ वटा फ्रेन्चाइज रहेको भट्टराईले बताए । यसको मुख्य कार्यालय सिंगापुरमा छ । चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प पनि गो बन्जीको फ्रेन्चाइज हो ।
पोखरामा नेपालकै ८ युवा मिलेर ८ करोड २५ लाख रुपैयाँमा बन्जी निर्माण गरेको भट्टराईले जानकारी दिए । बन्जीमा भट्टराईसहित पोखराका युवा व्यवसायी राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल र भूपालबहादुर बराल क्षेत्रीको लगानी रहेको छ ।
भट्टराईका अनुसार क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृंखला हेर्दै जम्प गर्न पाइने भएकाले यसप्रति आकर्षण बढ्ने उनको विश्वास लिइएको उनले बताए । बन्जीका दुई वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन् । यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि भएको उनले बताए ।
साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइन्छ । एक पटकमा १ सय २० केजीसम्मका व्यक्तिले बन्जी जम्प गर्न सक्छन् । साइकल जम्प, बकेट जम्प, टेन्डम जम्पलगायत विशेष जम्प पनि गराइने भट्टराईले जानकारी दिए । बन्जीमा तीन सेकेन्ड ‘फ्रि फल’ हुन्छ । करिब तीनदेखि ५ मिनेट बन्जीको समयावधी रहने छ ।
एड्भेन्चर भएकाले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए । अन्तर्राष्ट्रिय मापदण्डमा बन्जी जम्पका लागि अपनाइने सुरक्षालाई पनि अपनाइएको उनले बताए । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो पटक टवार क्लाइम्बिङ सुरु गरिएको उनले बताए । बन्जीले पोखरा सँगै सिंगो नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।
उनले एक पटक बन्जी गरेको प्याकेजमा ६ हजार लिने गरिएको बताए । प्याकेजमा टिसर्ट र फोटो भिडियो पर्ने उनको भनाइ छ । बन्जी गर्नेहरुका लागि बीमा पनि गरिएको उनको भनाइ छ ।
भट्टराई १२ वर्ष जापानमा बन्जीकै क्षेत्रमा अनुभव बटुलेका बन्जी मास्टर हुन् ।