चितवन विशेष
पर्यटन दिवसमा भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा वृक्षरोपण र सरसफाइ
चितवन, असोज ११-
४२ औ विश्व पर्यटन दिवसको अवसरमा भरतपुरको ज्ञानेश्वर सामुदायिक वन परिसरमा वृक्षरोपण गरिएको छ ।
चितवन पर्यटन विकास समितिले सो वृक्षरोपण, सरसफाई तथा गन्तब्य प्रवद्र्धन कार्यक्रम गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका भित्र रहेका महत्वपूर्ण गन्तव्यहरुमा पर्यटन पूर्वाधार निर्माण भइसकेकाले यसलाई शसक्त ढंगले प्रवद्र्धन गर्न सरोकारवालाको सामूहिक प्रयास हुनुपर्ने बताएकी छन् । मेयर दाहालले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन मार्फत समृद्धि हासिल हुने बताउँदै भरतपुर महानगरपालिकाले सोही बमोजिम काम अगाडि बढाइरहेको विचार राखिन् ।
उनले महानगर पर्यटकको केन्द्रको रूपमा रहेको भन्दै जल, जमिन र जंगलको समुचित सदुपयोग गरी यसको प्रवद्र्धनमा लाग्नुपर्ने बताइन् । पर्या पर्यटन, ईको पार्कका साथै सामुदायिक वनहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरी आय आर्जनको अतिरिक्त माध्यम बनाउन दाहालले आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले व्यवस्थित सडक सञ्जाल निर्माण गरिसकेको बताउँदै यसले पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा विकास गर्ने कामको सुरुवात भैसकेको भन्दै यो निर्माण सम्पन्न हुदा एउटा नमुना गन्तब्य बन्ने दाहालको भनाइ छ ।
भरतपुरमा रमणिय घुम्ने पर्यटकीय स्थलको कमी नभएको भन्दै पार्क मन्दिर खेल पर्यटनको लागि निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदीमा जल बिहार र चितवन राष्ट्रिय निकुञ्जभित्र पाटेबाघ तथा एक सिंगे गैँडालगायतका जंगली जनावरको अवलोकन भरतपुरको विशेषता भएको उनको भनाइ छ । उनले यस्ता पर्यटकीय क्षेत्रहरूको पहिचान विकास र बिस्तारमा सबैलाई ध्यान पु¥याउन आग्रह समेत गरेकी छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदीले ४२औँ विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटनको गुणात्मक विकासबाट लक्ष्य हासिल गर्न सकिने बताए । उनले चितवन भरतपुरको ज्ञानेश्वर ब्लक पर्यापर्यटन र स्पोर्ट टुरिज्मको रूपमा विकास गर्ने सम्भावना भएको भन्दै सबै सरोकारवालहरुको सामूहिक प्रयास मार्फत अगाडि बढेमात्र लक्ष्य हासिल गर्न सकिने बताए ।
सो अवसरमा होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार चुकेले विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दे पर्यटन क्षेत्रको समग्र विकास मार्फत समृद्धि हासिल गर्नुपर्ने बताए । पर्यटकीय क्षेत्रको पहिचान विकास र प्रवद्र्धनमा सबैको सामूहिक चासो र लगानी हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा चितवन पर्यटन विकास समितिका सदस्य सुरवीर पोखरेलले पर्या पर्यटनको विकास गर्दै यसको प्रवद्र्धनमा सामुदायिक वनहरू सबै लागि पर्ने बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन अधिकारीलगायतले भरतपुरको पर्यटन विकासको सम्भावना र अवसरहरूको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।