क्रिकेट
चितवन टाइगर्सका विदेशी खेलाडी नेपाल आइपुगे

चितवन, असोज ६–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सका विदेशी खेलाडीहरु नेपाल आइपुगेका छन् । बुधबार अफगानिस्तानका मोहम्मद शहजाद, करीम जनात, मलेसियाका वीरनदीप सिंह बुधबार नेपाल आइपुगेका छन् ।
उनीहरु बुधबारदेखि नै टोलीमा सामेल भएको चितवन टाइगर्सकी अप्रेशन डाइरेक्टर विनिता चौधरी भट्टराईले जानकारी दिइन् । नेपाल आएसंगै शहजाद आइसीसी टि–२० विश्वकप अघि इपीएलमा आफूलाई परीक्षण गर्न उत्साहित छन् । शहजादले भने, ‘यो टी–२० विश्वकप अघि प्रतिस्पर्धी प्रतियोगितामा हाम्रो टी–२० स्कीलको परीक्षण गर्ने एउटा राम्रो अवसर हुन सक्छ।’ विकेटकीपर ब्याट्सम्यान शहजाद र अलराउन्डर करीम जनात अर्को महिना युएईमा हुने टी–२० विश्वकपका लागि अफगानिस्तानको टिममा परेका छन्।
एभरेष्ट प्रिमियर लिगको चौथो संस्करण असोज गतेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ। टाइगर्सले आफ्नो पहिलो खेल असोज १० मा विराटनगर वारियर्ससंग खेल्नेछ। फाइनल असोज २३ गते हुनेछ ।
चितवन टाइगर्स सोमपाल कामीको कप्तानीमा मैदानमा उत्रिदै छ । टाइगर्सको उपकप्तानमा दिलीप नाथ रहेका छन् भने अन्य स्वदेशी खेलाडीहरुमा शहाब आलम, सागर ढकाल, भीम शार्कीलगायतका छन् । चितवन टाइगर्स अघिल्लो संस्करणको इपीएलको प्ले अफमा पुगेको थियो ।