Breaking News
चितवनको एनपिआई : अनलाइन कक्षाको नाममा असुलेको शुल्क फिर्ता गर्ने, विद्यार्थीसँग भयो सहमति

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज ६ –
करिब दुई हप्तादेखिको विद्यार्थीहरुको निरन्तर आन्दोलनपछि अन्ततः चितवनको नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपिआई) पछि हटेको छ ।
आज बुधबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच भएको वार्ता सफल भएको हो । वार्तामा सहमति जुटेसँगै विद्यार्थीहरुले प्रशासनमा लगाएको तालाबन्दी खोलेका छन् भने आगामी दिनका आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् ।
कोरोना महामारीका बेला अनलाइन कक्षाका नाममा कलेजले चर्काे शुल्क असुलेको भन्दै विद्यार्थीहरुले शुल्कमा छुट गर्न माग गर्दै आन्दोलन तथा तालाबन्दी गरेका थिए । एनपिआईले अनलाइन कक्षा पढाएको नाममा चर्काे शुल्क मागेको र ५/७ प्रतिशत विद्यार्थीले बुझाइ सकेको र बाँकीले बुझाउन अस्वीकार गरी आन्दोलन गरेको विद्यार्थीहरुले जनाएका छन् । ६ महिनाको एउटा सेमेष्टरमा एनपिआईले विद्यार्थीबाट १ लाखको हाराहारीमा लिने गरेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले कोभिड–१९ अवधिको सेमेष्टर शुल्कमा २५ प्रतिशत छुटको माग गरेका थिए । विद्यार्थीहरुले तालाबन्दीका साथै निरन्तर रुपमा आन्दोलन चर्काउँदै गएपछि कलेज प्रशासन विद्यार्थीको माग पूरा गर्न बाध्य भएको हो । दुई हप्ताको अवधिमा पटकपटक वार्ता बसे पनि सहमति जुट्न सकेको थिएन । आजको वार्तामा हाल कलेजलाई बुझाउनु पर्ने सेमेष्टर शुल्कमा एकपटकका लागि १५ प्रतिशत छुट गर्ने सहमति भएको छ ।
उक्त सहमति पत्रमा विद्यार्थीहरुका तर्फबाट अनेरास्ववियु एनपिआइका अध्यक्ष क्षितिज तिवारी,अनेरास्ववियूका केन्द्रीय सदस्य उमेश घले, अखिल क्रान्तिकारी एनपिआईका अध्यक्ष नारायण पौडेल, नेविसंघ एनपिआइका वरिष्ठ उपाध्यक्ष पुरुशोत्तम काफ्ले, स्वतन्त्र विद्यार्थी समूहका सम्पन्न गिरी र कलेज प्रशासनका तर्फबाट कलेजका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।
नतिजामा ‘आई’ को विषयमा अदालत जान कलेजले सहयोग गर्ने :
परीक्षा दिएका विद्यार्थीको नतिजामा अनुपस्थित अर्थात इन्कम्पिलट ‘आई’ आएको विषयमा पनि सहमति भएको छ । कलेजले विश्वविद्यिालयसँग यथाशिघ्र सकरात्मक नतिजा प्रकाशनमा जोड दिने र विश्वविद्यालयबाट सकरात्मकरुपमा नआएमा कानुनी उपचारका लागि अदालतको ढोकासम्म पुग्ने प्रतिवद्धता गर्दै कलेज प्रशासनले सहमति गरेको छ ।
विद्यार्थीको आन्दोलनका विषयमा नारायणी अनलाइनले निरन्तर फ्लो गरिरहेको थियो । ती समाचारले यहाँलाई थप स्पष्ट हुन सहयोग पार्ने छ । उक्त समाचारका लिंक तथा भिडियो तल प्रस्तुत गरिएको छ ।
चितवनको पोलिटेक्निक कलेजले अनलाइन कक्षाको चर्को शुल्क असुल्यो,विद्यार्थी आन्दोलित,तोडफोड र आगजनी