Breaking News
भरतपुर अस्पतालमा अख्तियारको छापा : कहाँ पुग्यो अनुसन्धान ?

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज ३ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यायले भरतपुर अस्पतालमा छापा हानेको दुई हप्ता भइसकेको छ । गत भदौ १७ गते अख्तियारको टोलीले अस्पतालको फार्मेसीबाट कागजातहरु जफत गरेर अनुसन्धानका लागि लगेको थियो ।
अहिले अनुसन्धान जारी रहेको अख्तियार कार्यालयका प्रवक्ता एवम् उपसचित विष्णुप्रसाद सापकोटाले जानकारी दिए । सापकोटासहितको ५ जनाको अख्तियारको टोली भरतपुर अस्पतालमा छापा मार्न पुगेको थियो । ४/५ वर्षको खरिदबिक्रीको अध्ययन अनुसन्धान भइरहेकाले केही समय लागेको बताउँदै सापकोटाले दशैं अघि नै छानबिन सकिने बताए ।
‘हामीले कागजात संकलन गरेर छानबिन अधिकृतलाई दिएका छौं । उहाँहरुले छानबिन गरिरहनु भएको छ । छानबिन गर्न केही समय लाग्यो भनेपछि केही कैफियत पक्कै छ । तर वास्तविकता के हो ? भन्ने चाहीँ छानबिन प्रतिवेदन आएपछि मात्र थाहा हुन्छ’ उनले भने ।
भरतपुर अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार बिमाका बिरामीहरुले समयमा औषधी पाएनन् भन्ने गुनासो र उजुरी पनि पटकपटक परेका छन् ।
यस्तै टेण्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका गुनासाहरु अख्तियारमा आएको उनले बताए ।
देशको केन्द्र भागमा रहेको एउटा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा विभिन्न जिल्लाबाट बिरामीहरु आउने गर्दछन् । यहाँ सेवा प्रवाह प्रभावकारी नभएको, पटकपटक राजनीतिक पहुँचका आधारमा मेडिकल सुपरिटेण्डेन्ट फेरिने गरेको, चिकित्सकहरु तोकिएको समयमा अस्पतालमा नबसी हाजिर गरेर हिँड्ने गरेको, पहुँचवालाले आफ्नो आफन्तलाई जागिर खुवाउने थलो बनेको लगायत गुनासाहरु जनस्तरबाट पटकपटक सुनिने गरेका छन् ।
सम्बन्धित समाचार :
जब अकस्मात भरतपुर अस्पतालमा अख्तियार छिर्यो, तब कर्मचारीमा देखिएको त्यो त्रास (भिडियोसहित)