स्वास्थ्य
बर्खे एलर्जीबाट कसरी बच्ने ?

काठमाडौं,
बर्खा लागेसँगै करिब चार महिनादेखि बारम्बार पानी परिरहेको छ । उक्त समयमा धेरै मानिसहरुलाई एलर्जीको समस्याले सताएको छ ।
छाला चिलाउने, डाबर आउने, शरीरमा कन्याउँदा घाउ भएर रातो दाग देखिने आदि ‘एलर्जी’ को लक्ष्यण हो । शरीरमा देखिएको एलर्जी कुनै चाँडै निको हुन्छ भने कुनै महिनौंसम्म पनि निको हुदैन शरीरभरि फैलिएर घातक पनि हुन सक्छ ।
छाला तथा सौन्दर्य सम्बन्धी वरिष्ठ विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्णका अनुसार बर्खाको सिजनमा घरभित्रै बस्ने गर्दा एलर्जीको समस्या बढी मात्रामा देखिने गर्छ । घर बाहिर निस्कने अर्थात् कार्यालय तथा व्यवसाय लगायत नियमित काममा जानेमध्ये कमलाई त्यस्तो समस्या देखिएको छ भने घरभित्र लामो समयसम्म सीमित हुनेलाई एलर्जी बढी देखिएको छ । यस सिजनमा बालबालिका, युवा, वृद्धवृद्धामा एलर्जीको समस्या देखिएको डा. धर्मेन्द्र कर्णले बताए ।
छाला तथा सौन्दर्य सम्बन्धी वरिष्ठ विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्णका अनुसार विभिन्न कारणले शरीरमा ‘एलर्जी’ हुन्छ जस्तै :
-घरभित्र किराको टोकाइले
शरीरमा एलर्जी बनाउने किरा घर बाहिरमात्रै नभएर घरभित्रै पनि हुनसक्छ । घरभित्र आँखाले देख्न नसकिने किरा प्रशस्त हुन्छन् । ओसिलो ठाउँमा हुने किराहरु कार्पेट, बक्स खाटमा पनि हुन्छन् । पछिल्लो समय बक्स खाट राख्ने प्रचलन छ । बक्स खाटमा एलर्जी बनाउने किरामात्रै नभएर साङ्ला पनि हुन्छन् । यस्तै, कपासले बुनेको डस्ना, सिरानी, ब्ल्याङ्केटहरुमा पनि किरा हुन सक्छन् । तिनै किराको टोकाइबाट शरीरका विभिन्न भागमा एलर्जी आउनसक्छ ।
किराहरु जब साँझ पर्छ, तब एक्टिभ हुन्छन् । त्यसपछि उड्न र टोक्न थाल्छन् । यही समयमा बच्चाहरुको हातखुट्टा बढी चिलाउन थाल्छ । अन्य उमेर समूहको भन्दा बालबालिकाको छाला कलिलो हुने हुँदा किरालाई टोक्न सजिलो हुन्छ । घरभित्र सीमित हुने ज्येष्ठ नागरिकलाई पनि यस्ता किराले टोक्दा एलर्जी आउने गर्छ ।
बर्खामा किन एलर्जी आउँछ ?
-खानेकुराबाट
आँखाले नदेख्ने किराको टोकाइबाट मात्र नभई खानेकुराका कारण पनि शरीरमा एलर्जी आउँछ । कसैलाई गाईको दुध, बदाम, अण्डा, माछा खाँदा एलर्जी हुन्छ । विभिन्न रोगका औषधि सेवन गर्नेहरुलाई एलर्जी आउँछ । यस्तो एलर्जीलाई बाहिरी एलर्जी पनि भनिन्छ ।
कहिलेकाहीँ शरीरको भित्री कारणले गर्दा पनि एलर्जी आउने गर्छ । जस्तै, शरीरमा संक्रमण भई रुघा लाग्ने, घाँटी दुख्ने, पिसाबमा इन्फेक्सन हुँदा, सुगर, प्रेसरका बिरामीलाई पनि एलर्जी देखिने गर्छ । एलर्जी यही व्यक्तिलाई हुन्छ भन्ने हुँदैन । ८० प्रतिशत एलर्जी आमाबाट र २० प्रतिशत बुबाबाट सर्छ ।
-बर्खा सिजन
यस सिजनमा लामो समयसम्म पानी पर्छ । त्यसैले बर्खामा घर वरिपरि हरियो झारपात बढी हुन्छ । घर वरिपरि रहेका हरियो घाँस अथवा झारपातमा विभिन्न किसिमका ससाना किरा अर्थात् किटाणु बस्छन् । जब पानी पर्छ, तब हरियो झारमा बसेका किराहरु घरभित्र पस्छन् । यस्तै, कपडा सुकाउँदा कपडामा किरा बस्छन् । कपडामा टाँसिएको किराको झुस शरीरमा टाँसिएपछि एलर्जी हुन्छ ।
घरको झ्याल, ढोका खुला भएको खण्डमा वा झ्यालमा जाली नहुँदा किराहरु घरभित्र पस्छ । त्यसरी घरभित्र प्रवेश गरेका किराले टोक्ने गर्छ । किराले विशेष गरेर बच्चालाई बढी टोक्छ । बच्चाहरुलाई कुइनोभन्दा तल, घुँडाभन्दा तल टोक्दा एलर्जी हुन्छ । बच्चाबच्चीसँगै ज्येष्ठ नागरिकलाई पनि बढी एलर्जी भएको पाइएको छ ।
निम्न उपाए अपनाए एलर्जीबाट बच्न सकिन्छ
–घरमा किरा अर्थात् किटाणु हुर्कन नदिने ।
–सकेसम्म कोठाहरू उज्यालो बनाउनुपर्छ ।
–कोठामा हावा छिर्ने हुनुपर्छ
–सकेसम्म घरमा कार्पेट नराख्ने ।
–कोठामा सकेसम्म टायल, टाट राख्ने
–बक्स खाट नराख्ने, बक्स खाट भनेको एलर्जीको बैंक हो ।
–चारखुट्टे खाट राख्ने ।
–सकेसम्म फाइवरको सिरानी, डसना, सिरक बनाउने ।
–हप्तामा एक पटक सिरानी डसना, सिरक घाममा सुकाउने
–कपडा नजिकै फोहोर नराख्ने
–कपडा सुकेपछि मज्जाले झाट्ने वा टकटकाउने, त्यसपछि आइरन गरेर मात्रै लगाउने
–घरको झ्याल ढोकामा जाली लगाउने
–घर वरिपरि झाडी बन्न नदिने
–एलर्जी भएको बेलामा सकेसम्म गाईको दुध, बदाम, अण्डा नखाने
–रक्सी, चुरोट सेवन नगर्ने
–कुनै पेन किलर नखाने
–एलर्जी हुँदा चिकित्सकको सल्लाह बिना कुनै औषधि सेवन गर्न हुँदैन, जस्ता उपायहरुले एलर्जीबाट जोगिन सहयोग गर्छ ।
समाचार स्रोत : छाला रोगका वरिष्ठ विषेशज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्णसँग रातोपटीले गरेको कुराकानी