Breaking News

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

Banner

काठमाडौँ, भदौ २८–

आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रन बनाए । ९३ बल खेलेका भुर्तेलले ३ छक्का र ३ चौका प्रहार गरे । शतक बनाउन चुकेका भुर्तेललाई निसरग पटेलले एलबीडब्लुको धरापमा पारे ।

यस्तै लगातार उत्कृष्ट प्रदर्शन गर्ने क्रममा रोहित कुमार पौडेलले ६२ रनको अवजित अर्धशतकीय पारी खेले । उनले ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै विनोद भण्डारीले ३७ रन बनाए । ४८ बल खेलेका विनोदले १ छक्का र २ चौका प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १७ र कुशल मल्लले १ रन बनाए ।

अमेरिकाका लागि निसरग पटेल र नोसथुसले समान २/२ विकेट लिए ।

यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनन्क पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका पटेलले १ छक्का र ९ चौकाको मद्धतमा १०० रन बनाएर आउट भए । उनलाई विक्रम शोबले कुशल भुर्तेलबाट क्याच आउट गराए । यस्तै निसार्ग पटेलले २१ रन बनाए भने अन्य व्याट्सम्यानले सामान्य प्रदर्शन गरे ।

नेपालका लागि सन्दीप लामिछाने, विक्रम शोब र सुसन भारीले समान २र२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । अमेरिकाका २ खेलाडी रनआउट भए ।

जितसंगै नेपालले २ अंक बटुलेको छ । ५ खेल खेलेको नेपाल ६ अंकका साथ छैटौं स्थानमा यथावत छ भने १३ खेल खेलेको अमेरिका १२ अंकका साथ दोस्रो स्थानमै यथावत रहेको छ ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १३ खेलमा छ खेलमा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले आज घरेलु टोली ओमानसित प्रतिस्पर्धा गर्ने छ । उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>