चितवन विशेष
नवौ राष्ट्रिय विज्ञान दिवसमा सप्ताहव्यापी कार्यक्रम

चितवन, भदौ २८–
नवौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत सोमबार चितवनमा विद्यार्थीहरुबीच नेपालमा आइपर्ने समस्यालाई विज्ञान र प्रविधिको प्रयोग गरि समाधन खोज्ने उपाय बारे प्रतिस्पर्धा गराइएको छ ।
भरतपुरमा रहेको अंकुरम एकेडेमीमा आयोजित कार्यक्रममा जिल्लाका २० वटा विद्यालयका ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ती विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको सोँच प्रयोग गरेर विपद् र माहामारी जस्तो समयमा आउने समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने चुनौती दिईएको थियो । विद्यार्थीहरुले उपलब्ध सामग्रीको प्रयोग गर्दै विपद्बाट बच्न सकिने डिजाइन प्रस्तुत गरेका थिए । कतिपयले बाढी रोक्न सक्ने प्रविधि र कतिपय स्वास्थ्य उपकरणहरु निर्माण गरेका थिए ।
नवौं राष्ट्रिय विज्ञान दिवस मुल समारोह समितिको सदस्य पवित्र बहादुर गौतमले विद्यार्थीहरुलाई दवाब नदिइकन आफूले जानेको र सोँचेको कुराहरु उतार्न कार्यक्रम गरिएको बताए । ‘विद्यार्थीले लागेको र गर्न खोजेको काम गर्न दिएका हौं, दवाब रहित समूहमा छलफल गरी सामूहिक रुपमा नयाँ विचार उत्पादन होस् भन्ने चाहना हो’–गौतमले भने । उनले विद्यालयहरुमा पढ्ने मात्रै काम हुने भएकाले सबै सोँचलाई एकैठाउँमा ल्याएर मन्थन गर्ने बाटोको रुपमा यो कार्यक्रम गरिएको बताए ।
सरकारले असोज १ गते नवौ राष्ट्रिय विज्ञान दिवस मनाउँदै छ । त्यसैका लागि सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु भइरहेका छन् ।