चितवन विशेष
चितवनमा साहित्यकार नेत्र एटम सम्मानित

चितवन, भदौ २६-
१५६ औं मोतीराम जयन्तीको अवसरमा चितवन साहित्य परिषद्ले साहित्यकार नेत्र एटमलाई सम्मान गरेको छ ।
परिषद्ले स्थापना गरेको चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार नेत्र एटम सम्मानित भएका हुन् ।
एटमको कविता संग्रह ‘प्रिय मौनता’ लाई ३५ हजार ४५ रुपैयाँ सहित सम्मान गरिएको छ । कार्यक्रममा कवि गोविन्दराज विनोदीले एटमलाई सम्मान गरेका हुन् । चिसापका पूर्वअध्यक्ष स्व. राजकृष्ण कँडेलका परिवारले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर सोही कोषबाट आर्जित रकमबाट युवाकवि मोतीराम जयन्तीको अवसरमा पुरस्कार अर्पण गरिँदै आएको परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।
सोही कार्यक्रममा चिसापकी पूर्वअध्यक्ष गायत्री श्रेष्ठको गीत संग्रह ‘आफ्नै मनको सागरमा’ को गृह विमोचन तथा अन्तरक्रिया गरियो ।
श्रेष्ठका गीत बारेमा चिसापका सदस्य रेशमलाल श्रेष्ठले प्रकाश पारेका थिए भने संगीतकार सहन प्रधानले आवाज भरेका थिए । परिषद्ले पूर्वअध्यक्ष श्रेष्ठको ७२ औं जन्म उत्सव पारेर सम्मानसमेत गरेको थियोे । कार्यक्रममा पुरस्कार संस्थापक राजु कँडेल, परिषद्का सल्लाहकार केदारनाथ खनाल, सचिव बालकृष्ण थपलिया , कार्यक्रम संयोजक सरला जोशीले मन्तव्य राखेका थिए ।