Breaking News
मन्त्री सुवेदीद्धारा मदन-आश्रितको शालिकमा माल्यार्पण,भन्छन्ः दासढुङ्गाको गुरुयोजना निर्माण अन्तिम चरणमा छ

चितवन,भदौं २४-
बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले चितवनको दासढुङ्गा स्थित मदन-आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । आज (बिहिबार) विहान उहाँले स्वर्गिय जननेता मदनभण्डारी र कुशल संगठक जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गामा रहेको शालिकमा माल्यार्पण गर्नुभएको हो । उहाँले हिजो (बुधबार) मात्रै सामाजिक विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।
मन्त्री भएको दोस्रो दिनमा उहाँले मदन आश्रितको शालिकमा माल्यार्पण गर्दै कामको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँले मदनआश्रितको प्रेरणाबाट राजनीति सुरु गरेको भन्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्न दासढुङ्गा पुगेको बताउनुभयो । उहाँले दासढुङ्गाको विकासका लागि डिपिआर निर्माण भइरहेको भन्दै केही संरचनाहरु निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । दासढुङ्गालाई राजनीतिक अध्ययन केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो । मन्त्री सुवेदीले प्रदेश सरकारले दासढुङ्गालाई प्राथमिकतामा राखेको भन्दै चरणबद्ध रुपमा काम गरिने धारणा राख्नुभयो ।
सुवेदीको अग्रसरतामा दासढुङ्गामा डिपिआर निर्माण भइरहेको छ । मन्त्री सुवेदी मदन भण्डारी अध्ययन केन्द्र दासढुङ्गा शाखाको अध्यक्ष समेत हुनुहुन्छ । सो अवसरमा मन्त्री सुवेदीले स्थानिय नेता कार्यकर्तासंग भेट गर्नुभएको थियो ।