Breaking News
चितवनका सांसद विजय सुवेदी बने बागमती प्रदेशका सामाजिक विकास मन्त्री

चितवन, भदौ २३ –
चितवनका सांसद विजय सुवेदी बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् । चितवन क्षेत्र नम्बर नम्बर २ (ख) का प्रदेश सभा सांसद सुवेदी आज मन्त्रीमा नियुक्त भएका हुन् ।
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै सुवेदीसहित ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी छिन् ।
नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
त्यस्तै प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । वाग्मतीमा यसअघि नियुक्त केशवराज पाण्डे भौतिक पूर्वाधार मन्त्री छन् ।
जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्री नियुक्त भएका छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री बनेका छन् ।
नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।
को हुन् सुवेदी ?
सुवेदी भरतपुरका जनप्रीय नेता मानिन्छन् । उनले यसअघि भरतपुर अस्पतालको अध्यक्ष भएर महत्वपूर्ण काम गरिसकेका छन् । त्यति खेर उनले अस्पतालमा थुप्रै सुधारका कामहरु गरेका थिए । अहिले पनि स्वास्थ्य क्षेत्रको विकासमा उनको चर्चा चल्ने गरेको छ ।
उनले यसअघि चितवन उपत्यकाको गुरु योजना निर्माणको नेतृत्व पनि गरि सकेका छन् । यस्तै रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको क्रिकेट रंगशाला निर्माण सहयोग जुटाउन गरिएको धन धान्याञ्चल महायज्ञको संयोजक भएर करोडौं उठाउन सुवेदीले पहल गरे ।
सांसद भइसकेपछि सुवेदीले गणेशधाम निर्माणको संयोजक बनेर काम डिपिआर निर्माण गरी अहिले धाम निर्माणमा सहयोग गरिरहेका छन् । उनले भरतपुरमा सरसफाइ र हरियाली अभियान सञ्चालन गरेका छन् ।
सादा र सरल स्वभावका रहेको भन्दै सुवेदीको जनमानसबाट निकै प्रसंशा हुने गरेको छ । यस्तै उनले पुङ्गी खोला, केरुङ्गा खोलाको सरक्षणमा पनि काम गरिरहेका छन् ।
उनको बारेमा थप जान्न यो समाचार पढ्नुहोस्, :
को हुन् वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री चितवनका विजय सुवेदी ?