Breaking News

चितवनका जेलमुक्त दुई सैनिकको पीडाः निर्दोषलाई यातना दिँदै जेल हालियो तर क्षतिपूर्ति भएन

Banner

चितवन, भदौं २०-

हतियार चोरेको आरोपमा जेलमा बसेर सैनिक अदालतको आदेशबाट छुटेका चितवनमा कार्यरत दुई सैनिकलाई क्षतिपूर्ति दिने कुरामा अदालत मौन बसेको छ ।

२०७५ चैत २५ गतेबाट भरतपुरको कालीबहादुर गणका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई भरतपुर कारागारमा राखेकोमा झण्डै तीन वर्षपछि निर्दाेष साबित भएर उनीहरु मुक्त भएका हुन् ।

गत भदौ १८ गते शुक्रबार गणको एउटा हतियार चोरेको झुटो अभियोगमा २८ महिनापछि सैनिक अदालतको फैसलासँगै उनीहरु कारागारबाट मुक्त भएका थिए । अदालतले दोषी ठहराउँदै लबकुमारलाई १० वर्ष र सरोजलाई सात वर्षको कैद सजाय सुनाएको थियो । सैनिक हिरासतमा चार महिना राखेर उनीहरुमाथि चरम यातना दिइएको थियो । उनीहरुले हामी निर्दोष छौं भनेर जति बिन्ती गरे पनि उनीहरुको आवाज कसैले सुनेन ।

जब गत साउनमा उनीहरुले चोरेको भनिएको हतियार सेनाकै सिपाही भरतपुर महानगरपालिका–२१ पार्वतीपुर रंगिलाका गंगाधर ढकालले चोरेर आफ्नै सहकर्मीको हत्या गरेको रहस्य खुल्यो, त्यसपछि एकाएक सैनिक वृत्तमा तरंग आयो । सैनिक अदालतमा लगातार पेसी चढ्यो । हतियार चोर्ने एउटा र सजाय भोग्ने अर्काे भएपछि सैनिक अदालतमाथि नै प्रश्न चिन्ह लाग्यो । बल्ल जेलको चिसो छिँडीमा कोचिएका दुई निर्दोष सैनिकको अनुनय विनय नेपाली सेनाले सुन्यो ।

शुक्रबार साढे ४ बजेतिर उनीहरु भरतपुर कारागारबाट रिहा भए । लबकुमार र सरोजको रिहाइ हेर्न पत्रकार र सर्वसाधरणको भीड बाक्लै थियो । दुवै निर्दोष सैनिकको परिवारले जति यातना भएको थियो, सैनिक अदालतले फैसलाले त्यसमा न्याय गरेजस्तो नलागेको प्रतिक्रिया दिएका छन् । सरोजकी आमा माया तामाङले भनिन्, ‘ यत्रो सयमा निर्दोष सैनिक जेलमा बस्दा क्षतिपूर्तिको व्यवस्था होला भन्ने लागेको थियो । तर, उल्टै तीन वर्ष बढुवा रोक्ने फैसला ग¥यो ।’

सरोज–लबकुमारका पक्षबाट बहस गरेका अधिवक्ता अरुण पौड्यालले भने, ‘हतियार कहिले हराएको, यकिन भएको अवस्था थिएन । जहिले हरायो भनियो त्यसदिन सरोज र लबकुमारले डिउटी पनि गरेकै अवस्था थियो । एक त चोर्दै–नचोरेको हतियार कसुरमा चार महिना यातना र २८ महिना जेल बसिसकेका थिए । तैपनि उनीहरुको बढुवा रोक्का गर्ने फैसलाले पूर्ण न्याय पाएको महसुस भएको छैन ।’

अर्का अधिवक्ता सोमनाथ ढुंगाना पनि बढुवा रोक्काको फैसला अन्यायपूर्ण भएको बताउँछन् । ‘यो फैसलाविरुद्ध सर्वोच्च र क्षतिपूर्तिका लागि जिल्ला अदालत जानुपर्ने अवस्था देखियो, जब बढुवा फुकुवासहित लबकुमार र सरोजलाई यो साढे दुई वर्षमा भागेको जेलजीवन र यातनाबापतको क्षतिपूर्ति दिइन्छ, त्यस दिनमात्रै पूर्ण न्याय भएको आभास हुनेछ ।’

उनीहरुले चार महिना सैनिक हिरासतमा चरम यातना पाए । त्यो गणभित्र फर्कनुपर्दा उनी आफूलाई सुरक्षित महसुस गरिरहेका थिएनन् । उनीहरुले भने, ‘मानसिक र शारीरिक यातनाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन ! अझै पनि जानुपर्छ हस्पिटल । नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ ।’
उनीहरुले भनेअनुसार त्यतिबेला एक दिन पनि राम्रोसँग सुत्नै दिइएन। ‘न नुहाउन दिइयो, न मुख धुन, न दाँत माझ्न । अँध्यारो घरभित्र साउन्ड सिस्टमको आवाज आउँथ्यो । हातखुट्टा जताततै हतकडी, आँखामा पट्टी हुन्थ्यो। यतिसम्म कि भात खाँदा आँखामा पट्टी हुन्थ्यो। के खुवाउँथे, थाहा हुन्थेन। तर पनि भोक मेट्न खाइन्थ्यो।’
सरोजले भनेअनुसार एकपटक त उनीहरुलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि सरोजलाई भनियो, ‘तेरो साथी लबकुमार म¥यो।’ ‘त्यसपछि बन्दुक कहाँ छ, अब त भन्, नत्र तँलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।’

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन् । ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए ।

 

 

(नेपाल समयको रिपोर्टमा आधारित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>