Breaking News
नारायणी अनलाइनकर्मी डायमण्ड र चितवन पोष्टकर्मी काफ्लेलाई जोखिम पत्रकारिता पुरस्कार

चितवन, भदौ १९ –
प्रेस चौतारी नेपाल चितवन, शाखाको जोखिम पत्रकारिता चितवनका दुई युवा पत्रकार पुरस्कृत तथा सम्मानित भएका छन् । चितवनका दुई युवा पत्रकारद्वय हिरालाल आचार्य ‘डायमण्ड’ र कुलप्रसाद काफ्ले पुरस्कृत भएका हुन् ।
डायमण्ड नारायणी अनलाइन डटकम र सञ्चार पत्र दैनिक पत्रिकामा आवद्ध छन् भने काफ्ले चितवन पोष्ट दैनिक पत्रिका र थाहाखबर डटकममा आवद्ध छन् ।
आज भरतपुरको जिल्ला समन्वयन समितिको सभाहलमा आयोजित जोखिम पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रम– २०७८ बाट उनीहरुलाई पुरस्कृत गरिएको हो । नगद १० हजार रुपैयाँले पुरस्कृत गर्दै उनीहरुलाई खादा र प्रमाण पत्रबाट सम्मान गरिएको हो ।
साथै कार्यक्रममा कोरोनाको समयमा प्रेस चौतारीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने संघसंस्थालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पाेटिङ्का विषय होस् वा निकुञ्जमा रिर्पाेटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा होस् पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताए । यस्तै समाजिक विकृती एवम् दुरुपयोगका विषयमा आवाज उठाउन खोज्दा कहिलेकाहीँ प्रेस स्वतन्त्रता विरुद्धका गतिविधिहरु चितवनमा हुने गरेको उनले बताए । यसविरुद्ध बेलाबखतमा पत्रकारका विभिन्न संघसंगठन तथा महासंघले विज्ञप्ति नै निकालेर विरोध गरिरहनु परेको स्मरण गराए । यसै जोखिमलाई मध्यनजर गर्दै पत्रकारको हौशला बढाउन यस पुरस्कारको स्थापना गरिएको पण्डितको भनाइ छ । उनले नेपाली विद्यार्थी समाज जपानका पूर्व अध्यक्ष एवम् एनआएनए जपानका पूर्व सचिव सरोज कँडेलले यस पुरस्कार स्थापनाको लागि सहयोग गरेको बताए ।
जोखिम पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्न नेपाल पत्रकार महासंघ चितवन शाखा एवम् प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश सदस्य प्रतिमा सिलवालको तीन सदस्यिय पुरस्कार छनौट समिति गठन गरिएको थियो । पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा प्रेस चौतारीले दुई पत्रकारलाई पुरस्कृत गरेको हो ।
प्रेस स्वतन्त्रता र सूचना हकको प्रयोग गर्दै निर्भिकताका साथ सुरक्षित भएर विभिन्न जोखिमपूर्ण अवस्थामा पनि पत्रकारिता गरिरहेकाले पत्रकार डायमण्ड र काफ्लेलाई पुरस्कृत गर्न सिफारिस गरिएको समितिका संयोजक पोखरेलले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि एवम् नेकपा एमाले चितवन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावालीले मन्तव्य राखेका थिए ।
उनीहरु सबैले पुरस्कृत पत्रकारद्वयलाई बाधाई दिँदै सत्य, तथ्य, निष्पक्ष भएर अझै शशक्तरुपमा पत्रकारिता गर्न शुभकामना दिएका दिए । पत्रकारिता चुनौतीपूर्ण पेसा भएकाले यसभित्र थुप्रै जोखिम रहेको बताउँदै वक्ताहरुले सुरक्षित हुँदै निडर भएर काम गर्न समग्र श्रमजिवी पत्रकाहरुसमक्ष आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने पत्रकारहरुले जनप्रतिनिधिले जनचाहनाअनुरुप काम नगर्ने अनि उनीहरुको उक्त समाचार लेख्दा पनि पत्रकारलाई जोखिम रहेको बताएका थिए ।
प्रेस चौतारी नेपाल चितवनका सह–अध्यक्ष कृष्ण आचार्यले सञ्चालन गरेको कार्यक्रममा चौतारीका सचिवालय सदस्य मुकुन्द भुषालले स्वागत मन्तव्य राखेका थिए भने प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।