क्रिकेट
‘प्रभु पे’ चितवन टाइगर्सको प्रमुख प्रायोजक

काठमाडौँ, भदौ १७–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले प्रमुख प्रायोजक सार्वजनिक गरेको छ । असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको इपिएलमा चितवन टाइगर्सको प्रमुख प्रायोजकमा ‘प्रभु पे’ रहने भएको छ ।
चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टकी प्रमुख कुसुम लामाले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स वालेटको रुपमा रहेको छ । यो विभिन्न सामान खरिद भुक्तानी गर्दा उपयोगी हुदैं आएको छ । एशोसियट पार्टनरको रुपमा सिल्क ग्रुप रहेको आयोजित कार्यक्रममा जानकारी दिइयो ।
यस्तै चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टकी प्रमुख कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रा.लि.को सुरुवातका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आइडीएस सिल्क स्पोर्टस एकेडेमीः
एकेडेमी आइडीएस सिल्क ग्रुपको प्रमुख योजना हुनेछ । जसको उद्देश्य काठमाडौँ उपत्यका भित्र सुविधासम्पन्न एकेडेमी निर्माण गर्नु हुनेछ । एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्ने आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडले जनाएको छ ।