Breaking News
लकडाउनको बेला भरतपुर महानगरमा विकास निर्माण तीव्र, मेयरको अनुगमन

चितवन, जेठ १५–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि नेपालमा लकडाउन भएको ६५ दिन पुरा भएको छ । यसबीचमा धेरै कामहरु रोकिन पुगे । तर यही लकडाउनको समयमा भरतपुर महानगरपालिकाले भने विकास निर्माणको कामलाई तीव्रता दिएको छ ।
महानगरले २९ वटै वडामा अहिले विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको छ । महानगर भित्रका सडकहरुमा अहिले कालोपत्रे निर्माणदेखि ढल निर्माणका कामहरु भइरहेका छन् । यस्तै महानगर भित्र विद्यालयका भौतिक संरचना निर्माणका कामहरु पनि भइरहेका छन् ।
निर्माणको कामहरु तीव्र रुपमा अघि बढेपछि महानगर प्रमुख रेनु दाहालले अनुगमनलाई समेत तीव्रता दिन थालेकी छिन् । विकास निर्माणका कामहरुको अनुगमन गरेपछि महानगर प्रमुख दाहालले भनिन्–‘विकास निर्माणको काम तीव्र भएको छ, सबै काम सन्तोषजनक नै रहेको छ ।’
नगर प्रमुख दाहालले लकडाउनको बेला मानिसहरु घरभित्रै बस्ने भएकाले यही बेला विकास निर्माणको काम समेत उपयुक्त भएको बताइन् । उनले सुरक्षा सावधानी अपनाएर विकास निर्माणको कामलाई अघि बढाउन निर्देशन दिइएको बताइन् ।
यस्तै महानगर प्रमुख दाहालले महानगरको रिंग रोड (जगतपुर–शुक्रनगर), लिंक रोडहरुको समेत अन्य पूर्वाधारका कामहरु विविध चुनौतीका बाबजुत पनि संतोषजनक रुपमा भइरहेको बताइन् ।