अन्तर्राष्ट्रिय
सामाजिक सञ्जाल कम्पनी नै बन्द गर्ने ट्रम्पको चेतावनी

एजेन्सी,जेठ १५-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् । ट्वीटरले उनको ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्प आक्रोशित भएका हुन् । उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाए ।
ट्रम्पको पछिल्लो ‘युद्ध’ मुलतः ट्वीटरसँग केन्द्रित भएको छ । आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई ट्रम्पले सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँजेका थिए । ट्वीटरले आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरे, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ।’
त्यसपछि बुधबार बिहान उनको आक्रोश झन बढ्यो । उनले दुई ट्वीटमा सामाजिक सञ्जाल ट्वीटरलाई आक्रमण गरे ।
उनले लेखेका छन्, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’