Breaking News
कोरोना भाइरस : संक्रमणमुक्त हुनेहरुको संख्या १८३ पुग्यो

काठमाडौँ, जेठ १४-
कोरोना भाइरसको संक्रमण निको भएर थप २८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नारायणी अस्पतालमा उपचाररत पर्साका २१ जना संक्रमितहरु ११ औँ देखि १४ औँ दिनको अवधिमा पछिल्लो पीसीआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
उनीहरु डेढ वर्षदेखि ६२ वर्षसम्मका छन्। डिस्चार्ज हुनेहरु ५ जना महिला र १६ जना पुरुष छन्।
यस्तै कोशी अस्पतालमा उपचाररत उदयपुरका ४ जना संक्रमित पनि १७ औँ देखि ३६ औँ दिनको अवधिमा डिस्चार्ज भएका छन्।
उनीहरु ३६ देखि ६५ वर्षसम्मका छन्। डिस्चार्ज हुनेहरु ३ जना महिला र १ जना पुरुष रहेका छन्।
सुशील कोइराला क्यानसर प्रखर अस्पतालमा उपचाररत २ जना बाँकेका संक्रमित र १ जना वर्दियाका संक्रमित पनि संक्रमण मुक्त भएका छन्।
बाँकेका एक २४ वर्षिय संक्रमित ११ औँ दिनमा र अर्का ५५ बर्षीय संक्रमित २२ औँ दिनमा डिस्चार्ज भएका हुन्।
वर्दियाका ११ वर्षिय संक्रमित भने १६ औँ दिनमा डिस्चार्ज भएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १८३ पुगेको छ। तीमध्ये १४२ जना पुरुष र ४१ जना महिला रहेका छन्।
यस्तै आज थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।
आज सबैभन्दा धेरै रौतहट, दाङलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।