Breaking News
नेपाल फेरि सलहको जोखिममा, अमेरिकी फौजी किराभन्दा हजारौं गुणा खतरनाक

काठमाडौं, जेठ १३-
कोरोना भाइरसका कारण कृषि उत्पादन घट्ने र भोकमरी लाग्ने अनुमान भइरहेको समयमा दक्षिण एसियामा सलहको प्रकोप देखिएको छ। नेपालको तराई क्षेत्र पनि सलहको जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।
अफ्रिकी महादेशका केही देशहरु जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्यांग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्याएको समाचारहरु प्रकाशित भए ।
नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आँकलन हुँदै गर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने पक्कै छ ।
पूर्वी अफ्रिकाबाट सुरु भएको सलह मध्यपूर्व पाकिस्तान हुँदै नेपालको सीमा जोडिएको भारतसम्म आइपुगेको छ। तीन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सलहले भारतको राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा बालीनाली ध्वस्त बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले सलह दिल्लीतर्फ बढिरहेको बताइएको छ। दिल्लीमा सतर्कता जारी गरिएको छ।
पाकिस्तान हुँदै भारतका राजस्थान राज्यमा प्रवेश गरेको सलहले अन्नबालीमा ठूलो क्षति गरेको छ।
यो किराको आकार अफ्रिका, मध्य पूर्व र एसियाका खाडी देशमा आजभन्दा ७० वर्ष पहिले देखिएको भन्दा २० गुणा ठूलो मानिएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति पुर्याउन सक्ने भनी दाबी गरिरहेका छन् । सोही अनुसार यसको नियन्त्रणको तयारीमा लागेका छन् । भारत र पाकिस्तान पनि आफ्नो आन्तरिक द्वन्द्वलाई थाँति राख्दै सलह नियन्त्रणमा संयुक्त रूपमा लागि परेको सूचनाहरु पनि आइरहेका छन् ।
नेपाल पनि सलहको कारण समय–समयमा पीडित भएको र अनिकाल निम्तिएको इतिहास भेटिन्छ।
सलह सबैभन्दा विध्वंसकारी किरामा पर्छ। यसले सबै प्रकारका बाली खाने गर्छ। सलहको एउटा ठूलो समूहले एकै दिनमा ३५ हजार मानिसले खाने जति खान्छ ।
फट्यांग्रा प्रजातिको सलहमा सन्तान जन्माउने क्षमता अत्याधिक हुन्छ। एउटा मात्रै पोथी सलहले तीन महिनाको जीवनचक्रमा तीन पटक फूल पार्छ। प्रत्येक पटक ७० देखि ८० वटा फूल पार्ने गर्छ।
यसले एक दिनमा १ सय ५० किलोमिटरसम्मको यात्रा गर्ने गर्छ।