Breaking News

कोरोनाको समयमा अनलाइन प्रविधिको सान्दर्भिकता

Banner

डा. कुसुमराज सुवेदी–

पछिल्लो दुई महिनादेखि विश्व एउटा वैश्विक महामारीको चपेटामा छ । सम्पन्नशाली मुलुकदेखि लिएर गरिब मुलुकहरूसमेत यसको मारमा परेका छन् । विश्व ठप्प छ । विश्वका सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, व्यापारिक, औद्योगिक, पर्यटन जस्ता क्षेत्रहरूमा अकल्पनीय रुकावट आएको छ । मानिसहरू सबै घरघरमा बन्दी छन् ।

यो माहामारीले नछोएको र नभेटेको कुनै क्षेत्र छैन । शैक्षिक क्षेत्रमा पनि यसले एउटा सन्नाटा भित्र्याएको छ । पठनपाठनको गतिविधि शून्य बनेको छ । विद्यालय र महाविद्यालयहरू बन्द छन् । परीक्षा चक्र रोकिएको छ । यो अवस्था कहिले सम्म रहला ? के यो महामारीको त्रासदी पछि फेरी अर्को महामारीले विश्व आक्रान्त बन्दैन भन्न सकिएला र ? यो प्रश्न अनुत्तरित नै छ । हामीले विकासको उल्टो पथ समातेछौं । प्रकृति निरपेक्ष विकास समस्या रहेछ । प्रकृति सापेक्ष विकास नै वास्तविक विकासको पथ रहेछ । अब प्रकृतिमैत्री विकासको पथ समात्नु नै हाम्रो अपरिहार्य गन्तव्य हो । परम्परागत हिंडाइ मात्रले अब कहीं पनि पुगिंदैन ।

तर समस्याले समाधान पनि जन्माउँछ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन । वैश्विक महामारीको यो समस्यामा हामीले विकसित प्रविधिको प्रयोग किन नगर्ने ? जसलाई विकसित मुलकहरूले सफलता पूर्वक उपयोग गरिसकेका छन् । संसारमा द्रुतगतिमा भइरहेको सञ्चार प्रविधिको विकासले मानव जीवनका हरेक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । यसले उद्योग, कलकारखाना, कार्यालय, सुरक्षा निकाय, शिक्षण सिकाइ जस्ता कार्यमा वृहत्तर टेवा पुर्‍याउँदै आइरहेको छ । खबर, सूचना, सन्देश आदान प्रदान गर्ने विभिन्न प्रविधि नै सञ्चार प्रविधि (Information technology) हो । सञ्चार प्रविधि सूचना संरक्षित गर्ने, पुनर्ताजगी गर्ने र प्रदर्शन गर्ने साधन हो । आधुनिक समयमा Computerized पद्धतिबाट जडान भएका विभिन्न Hardware तथा Software को माध्यमबाट फैलिएको सञ्जालनै सूचना प्रविधि हो । जसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको विभिन्न Hardware र Software को सञ्चालन गरेर सूचना प्रवाह गर्दछ ।

विश्वव्यापी कोरोना भाइरसकोे विषम परिस्थितिमा शिक्षकहरूले मन पराए पनि नपराए पनि सञ्चार प्रविधिमा शिक्षणलाई लैजानुको अब विकल्प छैन । परम्परागत शिक्षा प्रणाली अब फेरिनु पर्छ र यसलाई प्रविधि मैत्री बनाउनु पर्छ । अनिवार्य प्रणालीका रूपमा लागू गर्न तत्काल विभिन्न समस्या छन् । यसतर्फ पूरै आँखा चिम्लने परिस्थिति पनि छैन । शिक्षामा प्रविधिको उपयोग भित्र्याउन एउटा पहुँचको समस्या त छँदै छ अर्को हाम्रा शिक्षकहरू प्रविधिमैत्री पनि छैनन् । अर्को पक्ष पनि छ त्यो हो सिक्ने चाहना । कतिपय शिक्षकहरू आफूलाई प्रविधि अनुकूलनगर्न पनि इच्छुक छैनन् । यो पुरानोबाट नयाँमा प्रवेश गर्नका लागि ठूलो समस्या हो । पुरानोबाट नयाँमा जान नचाहनेहरूका लागि अनिवार्य आवश्यकताले बाध्यता सिर्जना गर्न सकिन्छ । यसमा रोजिरोटीको प्रश्न पनि गाँसिएको हुन्छ । नयाँमा जान नचाहनेहरूको रोजिरोटी बन्द हुन्छ । जो इच्छुक छ त्यो अगाडि बढ्छ । इच्छुक नहुनेहरूमध्ये कतिपय रोजिरोटीले यसतर्पm डोरिन्छन् । शिक्षामा प्रविधितर्फ फड्को नमार्नेहरू अझ भनौं प्रविधिको उपयोगमा अनिच्छा देखाउनेहरू, रूढहरू क्रमशः छुट्दै जान्छन् । विकासको अवधारणाले यसै भन्छ ।

अबको शिक्षामा कक्षा कोठाको डेक्स बेन्च, कुर्ची, टेबल नहुन पनि सक्छन् । जहाँ शिक्षकले भन्ने सुनाउने र विद्यार्थीले नोट लेख्ने वा बनाउने अवस्था हुँदैन । विद्यार्थीले शिक्षकबाट डिजिटल सामग्रीहरू पाउँछन् । शिक्षकसँग डिजिटल छलफल गर्छन् र आवश्यकता अनुरूप ज्ञान लिन्छन् । अब डिजिटल उपस्थिति नै विद्यार्थीको हाँजिरी हुन सक्छ । यो विद्यार्थी र शिक्षक दुबैका लागि विल्कुल नयाँ हुनेछ । गोरेटामा हिंड्ने बानी भएकाहरूलाई कालोपत्रे व्यस्त सडकमा स्वभाविक रूपमा हिंड्न समय लागेझैं यसमा अभ्यस्त हुन समय लाग्छ । महामारीले मानव विकास र सिकाई बीच प्राविधिक व्यापक अन्तर दृष्टि प्रदान गर्दै छ । यो निश्चित रूपमा हाम्रो देशका शिक्षकहरूको लागि ठूलो चुनौती र अवसर समेत साबित हुनेछ । हाम्रा पाठ्यक्रम डिजिटलीकरण गरिएको छैन तर पनि हामीले यसको प्रयोग गर्नै पर्ने अबस्था आएको छ । अनलाइन शिक्षणका लागि प्रभावकारी पाठ्यक्रम बनाउन आवश्यक छ तर तत्कालै त्यो सम्भव पनि देखिंदैन ।

नयाँँ युवा पुस्तालाई नयाँ टेक्नोलोजीहरूमा सिक्न पक्कै पनि सजिलो छ । जहाँसम्म ग्रामीण क्षेत्रका विद्यार्थीहरूको लागि उचित कम्प्युटर र ईन्टरनेट प्रणालीको सुविधाको अभाव छ । हाम्रो शिक्षण परम्परागत पाठ्यपुस्तक प्रणालीमा आधारित छ । तथापि विद्यार्थीहरूलाई अनलाइन सिकाइले पाठ्यपुस्तक आधारित शिक्षाबाट टाढा जान र आलोचनात्मक विश्लेषण र स्वसिकाई प्रेरित शिक्षातर्फ जोड दिने गर्छ । शिक्षकहरूलाई डिजिटल्ली सिकाउन प्रशिक्षण गरिनु पर्दछ । अब समय यो आयो कि सरकारहरूले तालिम प्राप्त शिक्षकहरू र विशेष गरी उनीहरूको क्षेत्रहरूमा शिक्षणको रणनीतिहरू पुर्नमूल्यांकन गरी परिवर्तन गर्न आवश्यक छ । जूम, स्काइप, फेसबुक, गुगल आदि जस्ता तकनिकिहरू वास्तवमै योजना बनाउन धेरै सहयोगी भएका छन् । तर वास्तविकता अझै धेरै शिक्षक तथा विद्यार्थीहरूले यसमा पूर्ण पहुँच छैन ।

कोरोना भाइरसको प्रभाव युवा पठनपाठनको क्षेत्रमा बृहत्तर हुन गइरहेको छ जसले समग्र परिस्थिति राम्रो देखिदैन यस महामारीले अर्थतन्त्रलाई असर पुर्‍याउनेछ । असफल अर्थतन्त्रमा धेरै विद्यार्थी र युवा वयस्कहरू, विशेष गरी आर्थिक रूपमा पछाडि परेका परिवारहरूले आउने शैक्षिक वर्षमा उच्च शिक्षाको लागि भर्ना गर्न पनि नसक्ने हुन सक्छन् । यो स्थिति सामुदायिक क्याम्पसहरूका लागि थप दबाब हुनेछ ।

हामीले यस अवस्थाको उत्तम उपयोग गर्नुपर्दछ र गर्न सक्ने एक मात्र तरिका भनेको स्वयं नवीनता र हामीमध्ये धेरैले बेवास्ता गर्दै आएका नियमहरू भंग गर्नु हो । अनलाइन शिक्षा र टेक्नोलोजीलाई अब यहाँ बेवास्ता गर्न सकिदैन । अनलाइन शिक्षा भविष्य होइन वर्तमान हो ।

प्रविधिले मानिसहरूलाई उनीहरूको घरहरूमा जोड्दछ, यसका लागि सीमित सीमितताहरू सबै विश्वका लागि प्रदर्शनमा छन् । प्रविधिले गहिरो असमानताका बीच एक उज्यालो प्रकाश छोड्छ, जसले स्वसिकाइलाई आत्म निर्देशन गर्ने दक्षता पनि राख्छ ।

अनलाइन शिक्षा केही विक्रेताको लागि छोटो अवधिको व्यावसायिक अवसर पनि हुन सक्छ । तर यो शिक्षक र विद्यार्थीहरूको लागि परिवर्तन बन्न सक्छ । जब महामारीको आँधीबेहरी बित्छ, स्कूलहरू यो अनुभवले क्रान्तिकारी हुन सक्छ । उनीहरूको अस्तित्व रहेको विश्वमा बढ्दो बेरोजगारी र सम्भावित मन्दीले अनलाइन शिक्षालाई अझ बढी माग गर्नेछ । शिक्षण ढाँचामा परिवर्तन गर्न ढिलो हुन सक्छ, तर कोरोना भाइरस पछिको अर्थ व्यवस्थाले यसको माग अझ उच्च राख्ने छ ।

अन्तमाः अनलाइन प्रविधि विद्यार्थी तथा शिक्षकको दक्षता अभिवृद्धि गर्ने, विभिन्न कार्यक्षमता सम्बन्धी अनुभवहरू एक–आपसमा साटासाट गर्ने प्रणाली पनि हो । यदि हाम्रो जस्तो देशमा सही किसिमबाट अनलाइन प्रविधिको प्रयोग गर्न सकेमा शैक्षणिक तथा शिक्षणको क्षेत्रमा अनलाइन प्रविधि कोशेढुंगा सावित हुन सक्नेछ ।

लेखकः शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवनका प्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>