Breaking News
राष्ट्रियसभामा गृहमन्त्री भने – चौरजहारी घटना जातीय अहंकारवादको उपज

काठमाडौं, जेठ १३-
गृहमन्त्री रामबहादुर थापा बादलले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताएका छन् ।
घटनाबारे राष्ट्रियसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।
राष्ट्रियसभामा गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौजाहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौजाहारी पुगेका थिए ।
भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए ।
केटा पक्षको सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका ५ जनालाई अस्थायी प्रहरी पोष्ट राउत गाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौजाहारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
गत जेठ १० गते राति १० बजे नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको सोही दिन साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको, जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको थियो । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ ।