देश/प्रदेश
प्रदेश नं ५ : संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी

अर्घाखाँची, जेठ १३-
अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् ।
अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन् । जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो । भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो । संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो । उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् । रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन् । पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका ११६, मालारानी गाउँपालिकाका ३२१ र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ ।
गुल्मी –संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् । उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो । उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ । संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो । यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ । रासस