Breaking News

ट्रम्पले सुझ्याउँदै आएको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण डब्लुएचओले रोक्यो

Banner

काठमाडौं, जेठ १३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताएका मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बन्द गरिएको जनाएको छ ।

सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले सोमबार जानकारी दिएको हो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । त्यसपछि डब्लुएचओले सावधानी स्वरुप यसको परीक्षण रोकेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । यहाँसम्म कि उनी आफैले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।

कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझ्याउँदै आएका हुन् ।

अहिलेसम्म कुनै पनि अनुसन्धानले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने प्रमाण भेट्टाएका छैनन् । स्वास्थ्य विज्ञले पनि यसको प्रयोगलाई लिएर गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

यो औषधिको प्रयोगबाट मुटु सम्बन्धी समस्या उत्पन्न हुने र बिरामीको मृत्युको जोखिम झन बढ्ने पछिल्लो विस्तृत अध्ययनमा देखिएको छ ।

हाइड्रोक्सिक्लोरोक्वीन मलेरियासहित लुपस र आर्थ्राइटिसमा प्रभावकारी हुन्छ, तर कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि यो उपयुक्त हुने प्रमाण फेला परेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>