Breaking News
बिदेशमा अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याएर व्यवस्थापन गर्न समितिको निर्देशन

काठमाडौं,जेठ ११-
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेशमा ल्याएर उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा बसेको बैठकले सो निर्देशन दिएको हो ।
१०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङकका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले यो तथ्याङक केही घटबढ हुनसक्ने बताउनुभयो ।
विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिनुभयो ।
राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।