Breaking News
भारतका विभिन्न ठाउँबाट आएका थिए बाराका नयाँ संक्रमित

बारा, जेठ १०–
बाराका सबै ६ जना नयाँ कोरोना संक्रमितहरु भारतबाट आएको खुलेको छ । बारामा शुक्रबार राति ६ जना नयाँ संक्रमित थपिएका थिए । उनीहरु मध्ये दिल्लीबाट एक जना, मुम्बईबाट ३ जना र हरियाणाबाट २ जना आएका थिए ।
सिम्रौनगढ नगरपालिका वडा ११ का २२ वर्षीय युवक रौतहटको बन्जरीया नाका हुँदै जेठ १ गते नेपाल भित्रिएका थिए । अन्य पाँच जना भने बाराकै नाकाबाट नेपाल भित्रिएका थिए ।
वडा नम्बर ७ का ३८ वर्षीय संक्रमित दिल्लीबाट जेठ १ गते नेपाल आएका थिए । उनी बारा नाका भएर सीधै क्वारेन्टाइनमा गएर बसेका थिए ।
वडा नम्बर ७ कै ३४ र ४५ वर्षीय संक्रमित भने जेठ २ गते नेपाल आएका थिए । उनीहरु हरियाणाबाट बस रिजर्भ गरेर बिहार आएका थिए । उनीहरुसँगै बिहारका १४ जनाले बसमा मोतिहारीसम्मको यात्रा गरेका थिए ।
सिम्रौनगढ २ का २५ वर्षीय संक्रमित जेठ १ गते मुम्बईबाट आएका थिए । मुम्बईमा मिस्त्रीको काम गर्दै आइरहेका उनी ट्रक चढेर नेपाल आएका हुन् । वडा नम्बर १ का २७ वर्षीय संक्रमित पनि मुम्बईबाट नै आएको खुलेको छ ।