Breaking News
मध्यरातमा निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा, १२ राउन्ड हवाईफायर

रौतहट, जेठ ९-
राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री महमद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ ।
रौतहट क्षेत्र–२ का निलम्बित सांसद आलम हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेको अवस्थामा प्रहरीले उनको घरमा छापा मारेको छ ।
प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेको थियोे ।
यो प्रकरणमा आरोपित रहेका निलम्बित सांसद आलमका भाइ महमद महताब आलम पर्वको अवसरमा लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियोे ।
छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला सुरु गरेपछि प्रहरी टोली फर्किन बाध्य भएको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियोे । घरमा महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन ।