चितवन विशेष
चितवनका बालगृहहरुलाई तरकारी वितरण

चितवन, जेठ ७–
लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पले चितवनका बालगृहरुमा तरकारी वितरण गरेको छ ।
भरतपुर–२४ स्थित केरुङ्गा सामूहिक तरकारी खेती मार्फत स्थानीय कृषकहरुद्वारा उत्पादित तरकारी नारायणगढमा रहेको ‘हाम्रो घर’ तथा सौराहामा रहेका ‘नेपाल बाल कल्याण गृह’, ‘बालबालिका तथा बाल गृह संरक्षण केन्द्र’ , Sauraha Orphange र ‘सिर्जनशील बाल गृह’ मा वितरण गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष तथा सामूहिक तरकारी खेतीका संरक्षक कान्छा मल्लको अग्रसरतामा सहयोग स्वरुप प्राप्त तरकारी क्लबका सदस्य अजिता अधिकारी, दीपेन्द्र खरेल र सुरज पौडेलको संयोजनमा वितरण गरिएको हो । रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष बलराम दाहालको रोहबरमा गरिएको वितरण कार्यक्रममा बोल्दै अधिकारीले सहयोगी दाता र प्राप्तकर्ताबीच समन्वयकर्ताको काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
क्लबले भरतपुर महानगरपालिका वडा नं. ३ नगरबन मार्गका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई पनि तरकारी वितरण गरेको छ ।
यसैबीच, तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पादन गरी सस्तोमा उपलब्ध गराएको तरकारी पनि बिचौलियाहरुका कारण उपभोक्ताकहाँ पुग्दा महंगो मूल्य तिर्नुपरेकोमा दुःख व्यक्त गरेका छन् । केही ठूला किसानहरुका कारण पनि आफूहरूले दुःख पाइरहेको साना किसानहरुको गुनासो छ ।
अहिले लकडाउनको समयमा पनि लुकाइछिपाई भारतीय तरकारी ल्याईंदा स्थानीय उत्पादनले बजार नपाउने समस्या मात्रै हैन, कोरोना संक्रमण बढ्ने जोखिम पनि उत्तिकै छ । यस अवस्थामा विना बिचौलिया काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा पश्चिम चितवनमा उत्पादित तरकारी पुर्याउने व्यवस्था गरिएको छ ।
जस अनुसार विभिन्न ७ किसिमका तरकारी सुपथ मूल्यमा उपलब्ध गराइएको छ । प्रदेश सभा सदस्य राजेश शाक्यको पहलमा बिचौलिया विना नै विगत केही दिनदेखि यसरी नियमित रुपमा तरकारी काठमाडौंका विभिन्न क्षेत्रमा पु¥याइएको छ ।