Breaking News

देवचुली नगरपालिकाको पाँच वटा वडा सील, १२ जनाको स्वाब संकलन

Banner

ज्ञानु पंगेनी

नवलपुर, जेठ ७–

नवलपुरको देवचुली नगरपालिकाको पाँ वटा वडालाई सील गरिएको छ ।

वडा नम्बर १ देखि ५ नम्बरसम्मका वडालाई पाँच दिनका लागि सील गरिएको हो । देवचुली नगरपालिका वडा नम्बर २ मा माईती घर भएकी २४ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै यहाँका ५ वटा वडा सील गरिएको हो । उनी लकडाउको समयमा माईती आएर १० दिन बसेकी थिईन् । संक्रमित युवती बैशाख १९ गतेदेखि २९ गते (१० दिन) सम्म देवचुली–२ मा रहेको माईती घरमा बसेकी थिईन् । २९ गते बिहान श्रीमानसँग मोटरसाइकलमा काठमाण्डौ गएकी युवतीको जेठ ५ गते काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

देवचुली नगरपालिकाले ती वडाहरुलाई जेठ ११ गते राति १२ बजेसम्मको लागि सील गरेको जनाएको छ । घर बाहिर ननिस्कन र सुरक्षित रहन सम्पूर्ण नगरबासीमा देवचुली नगरपालिकाले आग्रह गरेको छ । अहिले ती वडाहरुमा प्रहरीको गस्ती बढाईएको छ । प्रहरीले माईकिङ्ग गरेर घरभित्रै बस्न आग्रह गरेको छ ।

संक्रमित युवतीको सम्पर्कमा आएका १२ जनाको स्वाब संकलन

देवचुली नगरपालिका वडा नम्बर २ (माईती घर भएकी) एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि परिवारका सदस्य र छिमेकी गरी १२ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संकलन गरिएको स्वाब परीक्षणका लागि चितवनको भरतपुर पठाईएको छ । उनीहरुको रिपोर्ट भोली (बिहीबार) आईपुग्ने स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिए ।

१० दिनसम्म माईतमा बसेकी उक्त युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आज बिहानै संक्रमित युवतीको माईती घरमा स्वास्थ्य कार्यालयका टोलीसहित प्रहरी पुगेर स्वाब संकलन गरेको हो ।

संक्रमित युवतीको आमा र परिवारको एक बालिकाको आरडीटी परीक्षण भएको छ । आरडीटी परीक्षणको नतिजा भने नेगेटिभ आएको चापागाईले जानकारी दिए ।

कोरोना संक्रमण देखिएपछि देवचुली नगरपालिकाको पाँच वटा वडा सील गरिएको छ भने अहिले यहाँ उच्च सर्तकता अपनाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>