समाज

पर्यटन क्षेत्रलाई राहत प्याकेज घोषणा गर्न सुझाव

Banner

पोखरा,जेठ ६-

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज घोषणा गर्न सुझाव दिएको छ । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालसँग समितिले सोमबार गरिएको छलफलमा सरकारले पर्यटनलाई माथि उठाउन विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने निष्कर्षसहित उक्त सुझाव दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले प्रदेश सरकारले आफ्नो आन्तरिक आम्दानी बढाउनका लागि करको दायरा बढाउनुपर्ने, अन्तिम चौमासिकमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, कृषि र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढाउनुपर्ने, कृषिलाई उद्योगसँग जोडनुपर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा मात्रै रु १० खर्ब भन्दा बढीको लगानी रहेको जानकारी दिँदै विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेशको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको तर चालू आर्थिक वर्षभन्दा पनि रु ५० करोड न्यून बजेट आउने अवस्था रहेको जानकारी दिनुभयो । पर्यटनको पूर्वाधार निर्माण र विशेष राहत घोषणा गर्ने अवस्थामा बजेट झन् घटेर आउन लागेको भन्दै उहाँले गत वर्षको भन्दा बजेट कम गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले बाह्य पर्यटक छिट्टै आउने अवस्था नरहे पनि आन्तरिक पर्यटकलाई कोरोना भाइरसको सङ्क्रमणपछि चलायमान बनाउने गरी योजना बनाउने बताउँदै प्रदेशले पहिलोपटक गरिबीको रेखामुनिका जनतालाई विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

समितिका सदस्य चन्द्रमोहन गौचन, राजीव गुरुङ, मीनप्रसाद गुरुङ, सरिता गुरुङ, जनकलाल श्रेष्ठ, हरिशरण आचार्यलगायतले नीति तथा कार्यक्रमसँगै बजेट पनि जनतालाई आशा जगाउने खालको आउनुपर्ने सुझाव दिनुभयो । उद्योग पर्यटन वन तथा वातावरणसचिव दीपक खरालले चालू आर्थिक वर्षमा रु दुई अर्ब बजेट रहेको मन्त्रालयमा आगामी बजेटमा भने रु एक अर्ब ५० करोडको मात्रै सिलिङ प्राप्त भएको जानकारी दिनुभयो ।

आत्मबल पुनरुत्थानका लागि ‘ललितकला थेरापी प्याकेज’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पार्ने मनोवैज्ञानिक त्रासलाई कलाकारिताका माध्यमबाट हटाउन आगामी बजेटमा ललितकला थेरापी प्याकेज ल्याउन माग गरिएको छ ।

ललितकलाका क्षेत्रमा क्रियाशील कलाकार विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले सोमबार इलाका प्रशासन कार्यालय ढुङ्गेपाटन कास्कीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो ।

विसं २०७२ को भूकम्पका कारण त्रसित व्यक्ति तथा समुदायलाई सामान्य स्थितिमा फर्काउन कलाकारिताका माध्यमबाट ललितकला थेरापी सञ्चालन गरिएको स्मरण गर्दै ज्ञापनपत्रमा वर्तमान परिप्रेक्षमा बन्दाबन्दीको अवस्थामा वा खुलेसँगै कोरोना भाइरसको विद्यमान त्रास हटाउनका लागि ललितकला थेरापी आवश्यक रहेको उल्लेख गरिएको छ ।

यसका लागि सरकारले बजेटमा सम्बोधन गरिनुपर्ने भन्दै ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा एक ललितकला शिक्षकको दरबन्दी राख्न माग गरिएको छ । त्यस्तै विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने, कलाकारको कलाकृति बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

कोरोना भाइरसले व्यक्ति, समुदाय हुँदै राष्ट्र नै त्रसित बनेको अवस्थामा ललितकला थेरापी विद्यार्थीमा मात्र नभइ सबै जनमानसमा आवश्यक रहेको प्राज्ञ नगेन सिंहले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङ्गत बरालले नेपाल आफँै कला संस्कृतिको धनी देश भएको र प्राचीनकालदेखि नै कला, संस्कृतिको देशका रुपमा चिनिएको बताउँदै ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>