Breaking News
सीमामा सशस्त्र प्रहरीको अवरोधः उद्धार गर्न माडीका मेयर पुग्दा पनि आउन दिएनन्

चितवन, जेठ ५–
घर नजिक आइसकेका चितवन माडीका २० जनासहित २४ जनालाई भारत फिर्ता पठाईएको छ । माडीसंगै जोडिएको पर्साको ठोरी नाकासम्म आईपुगेका २४ जनालाई नै सशस्त्र प्रहरीले पुनः भारत नै फिर्ता पठाई दिएको छ ।
मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । माथिल्लो तहबाट निर्देशन नआएको भन्दै उनीहरुलाई फिर्ता पठाईएको सशस्त्र प्रहरीले जनाएको छ । फिर्ता पठाइएका उनीहरुलाई सीमावर्ती नाका भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा रहेको भारतीय गाउँ धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा लगिएको छ ।
वैशाख ३१ गते मुम्बईबाट हिँडेका उनीहरु पाँच दिन लगाएर आइतबार सीमावर्ती बजार भिखना ठोरी आइपुगेका थिए । जसमध्ये चितवनका २१ जना , मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना छ्न् ।
उनीरुलाई लिन भन्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल पनि आफै ठोरी नाका पुगेका थिए । उनले आफूले जानकारी गराएर लिन आएको भन्दा पनि सशस्त्रले सबैलाई फिर्ता पठाएको थियो । उनले आफूले समन्वय गरेर आफ्ना नागरिक लिन आएको जानकारी गराउँदा पनि सशस्त्र प्रहरीले अनुमति नदिएको गुनासो गरेका छन् ।
सोही समूहमा आएका माडी नगरपालिका–५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले आफ्नै ठाउँमा आइपुग्दा पनि सशस्त्र प्रहरीले त्यस्तो व्यवहार गर्नु दुःखद भएको बताए । उनले भारतीय प्रहरीले आफूहरुलाई बसमा ल्याएर छोडेपछि नेपाल प्रवेश गर्न नपाएको गुनासो गरे ।