Breaking News
डब्लुएचओकाे महत्वपूर्ण बैठक बस्दै, कोरोना भाइरस महामारीको विषय प्राथमिकतामा

काठमाडौँ, जेठ ५-
कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको अभियानको नेतृत्व गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महत्वपूर्ण बैठक सोमबार बस्दैछ ।
सम्मेलनमा कोरोना भाइरसको संक्रमण विश्वका ४७ लाख भन्दा बढी मानिसमा कसरी भयो र तीन लाख १५ हजार भन्दा बढीको मृत्युको कारणबारे प्रश्न उठ्ने छ ।
विश्व स्वास्थ्य सम्बन्धी ७३ औँ वार्षिक सम्मेलन सोमबार र मंगलबार हुँदैछ । भिडियो कन्फ्रेन्स मार्फत हुने सो सम्मेलनमा डब्लुएचओको सदस्य रहेका विश्वका १९४ देशका प्रतिनिधिहरु सहभागी हुने छन् । यो पटकको सम्मेलनमा कोरोना भाइरस महामारीको विषयले प्राथमिकता पाउने छन् ।
हरेक वर्ष डब्लुएचओको कामको मुल्यांकन गर्न सदस्य राष्ट्रहरुको सम्मेलन हुने गर्छ । यस्तो सम्मेलनले आउँदो वर्षका लागि प्राथमिकता पनि निर्धारण गर्छ ।
बैठकमा यो पटक डब्लुएचओ दबाबमा आउने देखिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा उसको प्रयासलाई लिएर प्रश्न उठ्ने छन्।
अमेरिकाले डब्लुएचओको भूमिकामाथि लगातार प्रश्न गर्दै आएको छ । यो पटकको बैठक अमेरिका र चीनबिचको राजनीतिक युद्धको छायामा पर्ने सम्भावना पनि छ ।